कांग्रेस बन्न अबरोध गर्दा गोदाइ खाएका घिमिरेका बारेमा कांग्रेसले यसरी दियो प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमण निन्दनीय रहेको जनाएका छन् ।

शर्माले शनिबार बिहान विज्ञप्ति जारी गरेर अनुशासनहीन र दण्डनीय गतिविधि अस्वीकार्य रहेको बताएका छन् ।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कृयाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय छ’, शर्माले भनेका छन् ।

‘कृयाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन’, शर्माको विज्ञप्तिमा उल्लेख छ ।

‘महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ’, उनले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेकोे कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको बिषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राहना गरेको छ ।’

‘समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेकोे सबैलाई स्पष्ट नै छ’, प्रवक्ता शर्माले भनेका छन् ।

‘सदस्यतासम्बन्धी कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहीन र दण्डनीय गतिविधि अस्वीकार्य छ’, प्रवक्ता शर्माले भनेका छन् ।

क्रियाशील सदस्यता माग गरेर प्रक्रिया पूरा गरेर ल्याइएका कार्यकर्ताहरूको नाम केन्द्रीय सदस्य घिमिरेले काटिदिएपछि सिन्धुपाल्चोकका नेताहरूले घिमिरले दनक दिएका थिए ।

सामान्य धक्कामुक्का भएको विषयलाई घिमिरले मिडियाबाजी गरेर प्रचारवाजी गरेका थिए । घिमिरेको यो हर्कतको कांग्रेसका इमान्दार नेता कार्यकर्ताद्वारा विरोध भएको छ ।

Published : Saturday, 2021 July 17, 7:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया