ओलीको निरंकुश शासन ढलेको तेस्रो दिन काठमाडौंमा हाइप्रोफाइल बैठक

काठमाडौं । एमालेको सरकार ढलेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको तेस्रो दिन कम्युनिस्ट पार्टीका तीन शीर्ष नेताहरूबीच संयुक्त रुपमा भेटवार्ता भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बिहीबार बिहान नेता नेपालका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाको पनि सहभागिता रहेको थियो ।

भेटवार्तामा बृहत कम्युनिस्ट मोर्चा बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ । तीन शीर्ष नेताहरूबीच नेपालमा विभाजित रहेका कम्युनिस्टलाई एकठाउँमा कसरी ल्याउन सकिन्छ भनेर छलफल भएको बुझिएको छ ।

यसअघि, एमालेका वरिष्ठ नेता नेपाल र ‘विप्लव’बीच भेटवार्ता भएको थियो । दुई शीर्ष नेताहरूको भेटपछि प्रचण्ड आएर बैठकमा मिसिएका थिए ।

एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको तेस्रो दिन तीन कम्युनिस्ट नेताहरूबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

तीन शीर्ष नेताहरूबीच भएको भेटवार्ताबाट एमालेका अध्यक्ष ओलीलाई तनाब भएको चर्चा छ ।

Published : Thursday, 2021 July 15, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया