दुईतिहाइ बहुमतवाला ओली असफल भएपछि देउवा मैदानमा, काम गरेर कांग्रेसको इज्जत राख्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५औँ पटक प्रधानमन्त्री पदको शपथ लिने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा देउवाले मंगलबार साँझ ६ बजे शपथ लिनेछन् । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने स्रोतको भनाइ छ ।

मन्त्रीमा नेपाली कांग्रेसबाट बालकृष्ण खाण, ज्ञानेन्द्र कार्की, मीनेन्द्र रिजाललगायतका नेताहरूको नाम चर्चामा छ ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जनादर्शन शर्मालगायतको नाम चर्चामा छ ।

माओवादीले अर्थ मन्त्रालयमा दाबी गरेको छ । देउवाले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेका छन् । बरु माओवादीलाई गृह मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

मंगलबार नै संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छिन् ।

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले देउवालाई नियुक्ति दिएको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए ।

गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन् ।

सर्वाेच्च अदालतले सोमबार देउवालाई राष्ट्रपति नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो । यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन् ।

कांग्रेस सभापति देउवाले निर्वाचनका बेला तीन वर्ष अगाडि धनगढीमा ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्छ भनेर भनेको छ भनेपछि धेरैले उडाएका थिए । देउवाले ५औँ पटक शपथ लिएर धेरै पटक प्रधानमन्त्री बन्ने प्रधानमन्त्रीहरूको लाइनमा परेका छन् ।

Published : Tuesday, 2021 July 13, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया