कांग्रेस राष्ट्रिय सहमतिको सरकारको पक्षमा छः बालकृष्ण खाण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाणले राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताएका छन् ।

सोमबार कोटेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै खाणले कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताए । उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनोस् भन्ने नै हो ।’

मंगलबार बिहान कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपालसहितका दलका शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्ने प्रमुख सचेतक खाणले बताएका छन् । उनले पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल बनाउने सहमति भएको बताए ।

कांग्रेसका प्रमुख सचेतक खाणले सहमति र सहकार्यबाट अगाडि मिलेर सरकार बनाउने र मिलेरै सरकार चलाउने बताए ।

सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका नेता खाणले संसद विघटन गर्ने निर्णय बदर गरेर न्यायालयले संविधान र लोकतन्त्रको रक्षा गरेको बताए । न्यायालयको फैसलाले जनताको जित र प्रतिगमनको पराजय भएको बताए ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध उभिएर गरेको सहयोगको कांग्रेस नेता खाणले प्रशंसा गरेका छन् ।

उनले नेता नेपालको तारिफ गर्दै भने, ‘माधव नेपालज्यूको उच्च मूल्यांकन गरेका छौँ । संसद ल्याउन उहाँले जुन भूमिका खेल्नुभएको छ त्यो निकै प्रशंसनीय छ ।’

Published : Monday, 2021 July 12, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया