ओलीको गुँड यता हुनेछ, झिटीगुण्टासहित बालुवाटार छाड्ने, भण्डारीसँग पोखे दुखेसो

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मंगलबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

ओलीले मंगलबार भक्तपुरको बालकोटस्थित निवासमा सर्ने गरेर तयारी गर्न निजी सचिवालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । ओलीले दुई बजेभित्र बालुवाटारबाट आफ्ना सामानहरू बालकोटस्थित निवासमा सार्न निर्देशन दिएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा ५ बजे प्रधानमन्त्री पदको शपथ लिनेछन् ।

शपथको कार्यक्रम सकिनेवित्तिकै देउवा सिंहदरबारस्थित कार्यकक्षमा जिम्मेवारी सम्हाल्नेछन् ।

ओली शीतल निवासबाट सिधै बालुकोट निवास जाने स्रोतको भनाइ छ । विगतमा पनि त्यही परम्परा थियो ।

ओलीले सोमबार शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । भेटमा सर्वोच्च अदालतको फैसलाका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

भण्डारीलाई भेट्न जाँदा ओलीले महासचिव ईश्वर पोखरेललाई पनि साथै लिएर गएका थिए । ओली र पोखरेलले भण्डारीलाई भेटेर फर्किएपछि महेश बस्नेतले भण्डारीलाई सुटुक्क भेटेका छन् ।

सडकमा सर्वोच्च अदालतको फैसालाविरुद्ध न्यायाधीशहरूविरुद्ध जथाभावी दिनभरि अभिव्यक्ति दिएका बस्नेतले राष्ट्रपति भण्डारीलाई भेटेको स्रोतले जनाएको छ ।

Published : Monday, 2021 July 12, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया