पर्वत कांग्रेसभित्र यस्तो छ बबाल समीकरण, त्यागी नेता जोशीले देखाउलान् ठूलो छाती ?

कुश्मा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकै गर्दा पर्वत जिल्लाका नेताहरूलाई महाधिवेशनले छोएको छ ।

महाधिवेशनको तालिका सार्वजनिक भइसकेको छ । नेतृत्व हातमा पार्न नेताहरू सक्रिय भएर लागेका छन् ।

साउन २३ गते जिल्ला अधिवेशन तय भएको छ । नेपाली कांग्रेस पर्वतमा अहिलेसम्म सभापतिमा आधा दर्जन बढी नेताहरू नेतृत्वका लागि आकांक्षी देखिएका छन् ।

सभापतिमा आकांक्षा राख्नेहरूमा कतिपय नेतृत्व गरिसकेका, हाल पदाधिकारी रहेका र कतिपय ब्यक्तिगत इगोका कारणले पनि नेतृत्व दाबी गर्न थालेका छन् ।

अहिले केन्द्रमा विशेष गरी मुख्य तीन वटा गुट छन् । ती गुटअन्र्तगत छुट्टा–छुट्टै उप–गुट पनि देखिएका छन् ।

धेरै जिल्लामा केन्द्रकै बनोटअनुसारका गुटहरू देखिएका छन् । पर्वत जिल्लामा अलिक फरक कुरा देखिएको छ ।

पर्वत कांग्रेसमा दुइटा गुट छन् । ती दुबै गुटको नेतृत्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र पूर्वसभापति नवराज गुरुङले गरेका छन् । जोशी र गुरुङ सभापति शेरबहादुर देउवा निकटका हुन् ।

केन्द्रीय सदस्य जोशी १३औँ जिल्ला अधिवेशनसम्म नेता रामचन्द्र पौडेलनिकट थिए । जिल्ला अधिवेशन सकिएसँगै केन्द्रीय चुनावमा जोशी सभापति देउवा क्याम्पमा प्रवेश गरेका थिए ।

नेता गुरुङ सभापति देउवाले प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गर्दादेखि नै सँगै छन् । केन्द्रमा एउटै समूहमा भए पनि पर्वतका दुई समूहमा यी दुई नेता जोशी र गुरुङले नेतृत्व गर्छन् ।

१२औँ महाधिवेशनसम्म एकछत्र आफूले भनेकै उम्मेदवार जिताउँदै आएका जोशी १३औँ महाधिवेशनमा पर्वत जिल्लामा तत्कालीन क्षेत्र नम्बर २ मा ५० प्रतिशतमा सीमित भएका थिए ।

क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जोशीनिकट उम्मेदवार विजयी भए पनि केन्द्रीय चुनावमा झण्डै आधाले जोशी बिरोधी कित्तामा उभिए ।

केन्द्रीय सदस्य जोशीकै भतिज रामचन्द्र जोशीसमेत काका अर्जुनप्रसाद जोशीलाई केन्द्रीय सदस्य जिताउन लागेनन् । भतिजा रामचन्द्र जोशी सम्पर्क विहीन बनेपछि अर्जुनप्रसाद जोशीलाई ठूलो धोका भएको थियो ।

अर्जुनप्रसाद जोशीनिकट भनिएकाले पनि रामचन्द्रले केन्द्रीय चुनाव लड्दा सघाएका थिएनन् । १४औँ महाधिवेशनसम्म आइपुग्दा पर्वत कांग्रेसको राजनीतिक परिस्थिति बदलिएको छ ।

१३औँ महाधिवेशनमा जिल्लाको अधिवेशनमा केन्द्रीय सदस्य जोशीसँगै रहेका प्रतिनिधिसभा सदस्य, पूर्वसभापति लालकाजी गुरुङ, वर्तमान उप–सभापति दुर्गाबहादुर खत्री, महासमिति सदस्य मीना केसी, फलेबास नगरपालिकाको उप–प्रमुख पदमा पराजित रेखा गुरुङ नवराज गुरुङको कित्तामा देखिएका छन् ।

गुरुङ समूहमा पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, पूर्वसांसद ऋषिकेश तिवारी, पूर्वजिविस उप–सभापति राम शर्मा पौडेल, वर्तमान सचिव विश्वप्रकाश प्रसाइँलगायतका नेताहरू रहेका छन् ।

विगतमा देउवा समूहमा रहेका झण्डै ५० प्रतिशत र अहिले पौडेल–कोइराला समूहमा रहेका नेताहरू पनि गुरुङ समूहमा छन् ।

केन्द्रीय सदस्य जोशीलाई नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’, युवा नेता राजेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, सभापति खिमप्रसाद भुसाल, सचिव अशोक उच्चैलगायतको साथ छ ।

रामबहादुर प्रसाइँ ‘जीवन’, राजु आचार्य, राजकुमार क्षेत्रीले अर्जुन जोशीको समूहमा रहेको दाबी गरेपनि केन्द्रमा सभापति देउवाका विरुद्ध मत प्रकट गर्दा केन्द्रीय सदस्य जोशीको राजनीतिमा असर पुर्‍याउने देखिन्छ ।

गुरुङ समूहमा १४औँ महाधिवेशन लक्षित निरन्तर छलफल र तयारी भइरहेको एक नेताले बताएका छन् ।

उनीहरूले कसलाई कुन ठाउँमा लडाउने भन्ने पूरै तयारी गरिरहेका छन् । गुरुङ समूहबाट नवराज गुरुङ आफै सभापतिका दाबेदार हुन् ।

गुरुङ सबैको साथ पाएर जित्ने ग्यारेन्टी देखेमा आफै अगाडि सर्ने दाउमा छन् । सभापति हुने स्वार्थमा गुरुङले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग लेनदेनमा सहमति गर्न तयार रहेको आरोप छ ।

गुरुङ नेतृत्वको समूहमा खगेन्द्र तिवारी, विश्वप्रकाश प्रसाइँ, बसन्तबहादुर सिके पनि सभापतिका आकांक्षी हुन् ।

चुनावमा जाने अवस्था आएमा तिवारी वा प्रसाइँलाई अगाडि सार्ने गुरुङ समूहको तयारी छ । नेतृत्व र पदका विषयमा निरन्तर छलफल भइरहेको गुरुङ समूहमा रहेका एक नेताले जानकारी दिएका छन् । गुरुङ समूहले पर्वतमा अर्जुनप्रसाद जोशीलाई कमजोर बनाउने रणनीतिका साथ लागेको चर्चा छ ।

केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी समूहबाट सभापतिका प्रमुख दाबेदारमा जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ छन् ।

महाधिवेशन प्रतिनिधि युवराज जोशी, महासमिति सदस्य गंगाधर तिवारी, डा.चुडामणि शर्मा पनि जोशी समूहबाट सभापतिका आकांक्षी छन् । जोशी समूहबाट मल्लले सभापतिमा साथ पाउने सम्भावना अलिक धेरै छ ।

सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध बनाएका मल्लले बिपत् र अफ्ठ्यारो अवस्थामा जुनसुकै बेला पनि राहत र उद्धारमा आफै अग्रभागमा उभिदै आएका छन् ।

विगतदेखि नै नेता कार्यकर्तालाई पनि संरक्षण, सम्मान र सहयोग गर्ने नेताका रुपमा मल्लले पहिचान बनाएको चर्चा कांग्रेसभित्र छ ।

मल्लले कोरोना महामारीका बेला पर्वतका सात वटै गाउँपालिका र नगरपालिकामा पुगेर नगद, स्वास्थ्य सामग्री, खाद्यान्न बितरण गरेका थिए ।

मल्लले केही हप्ताअघि मात्रै पर्वतका ६१ वटै वडामा पुगेर कांग्रेसका वडा सभापतिमार्फत स्वास्थ्य सामग्री बितरण गरेका थिए । मल्ललाई पर्वत कांग्रेसको सभापति बनाएर नेतृत्व गर्न दिनुपर्ने कार्यकर्ताहरूको माग पनि छ । नेता मल्ल युवाहरूका बीच लोकप्रिय छन् ।

मल्लले कांग्रेसका अग्रज नेताहरूको सधैँ सम्मान गर्दै आएका छन् । अग्रजहरूको आशीर्वाद र युवाहरूको साथले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पर्वतमा क्लीन स्वीप गर्ने पक्षमा नेता मल्ल छन् ।

नेता मल्ललाई पर्वत कांग्रेसको सभापतिमा उम्मेदवार बनाउन कार्यकर्ताहरूले दवाव दिँदै आएका छन् ।

सभापतिका अर्का दाबेदार युवाराज जोशी हाल महाधिवेशन प्रतिनिधि छन् । उनी केन्द्रीय सदस्य अर्जुन जोशीका सहोदर भाई हुन् । युवराजले पनि पर्वत कांग्रेसको सभापति पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

विगतदेखि नै पदमा नभएपनि जिल्लामा हुने प्रशासनिक कामलगायतमा कार्यकर्तालाई सघाउँदै आएका युवराजले यस पटक सभापतिको उम्मेदवार बन्ने चाहना रहेको आफू निकटका नेताहरूसँग बताउने गरेका छन् ।

सक्रियता र क्षमताले सभापति हुन योग्य भए युवराज जोशी सभापतिमा अगाडि बढ्दा आफ्नै दाई अर्जुनप्रसाद जोशीलाई केन्द्रीय राजनीतिमा असर पर्ने विश्लेषण पनि कुश्मामा हुन थालेको छ ।

अर्जुनप्रसाद जोशीले ठूलो छाती बनाएर परिवारवादलाई भन्दा पनि कांग्रेसको भविष्य हेरेर पर्वत कांग्रेसको राजनीति गर्नुपर्ने सुझाव छ ।

अर्जुनप्रसाद जोशी आफैमा त्यागी, इमान्दार र स्वार्थ विहीन नेता हुन् । त्यो छविलाई अर्जुनप्रसाद जोशीले १४औँ महाधिवेशनमा पर्वतमा देखाउने पर्ने चुनौती छ ।

अर्जुनप्रसाद जोशी गण्डकी प्रदेश नेपाली कांग्रेसको सभापतिमा अगाडि बढ्न सम्भावना रहेको चर्चा पनि छ । जोशीले परिवारप्रति मोह देखाए भने त्यसको प्रत्यक्ष असर आफैलाई पर्ने सम्भाना निकै छ ।

Published : Saturday, 2021 July 10, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया