कांग्रेसमा वडादेखि केन्द्रसम्म युवाहरूको उपस्थिति हुनुपर्छः तरुण सचिव शाह
काठमाडौं । नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अधिक युवा तरुणहरू नेतृत्वमा आउनुपर्ने बताएका छन् ।
काठमाडौं कांग्रेसका युवा नेता समेत रहेका शाहले शुक्रबार प्रेस नोट जारी गरेर ४० वर्ष काटेका तरुण नेताहरू पार्टीको नेतृत्वमा आउनुपर्ने बताएका हुन् । उनले कांग्रेसलाई नयाँ जीवन दिन युवाहरूले अग्रज नेताहरूको सम्मान गर्दै हस्तक्षेप गरेर नेतृत्वमा आउनुपर्ने बताएका छन् ।
‘आउँदो महाधिवेशनमा ४० कट्नु भएका तरुण नेता साथीहरूलाई आफ्नो तहमा उम्मेदवारी दिएर नेपाली कांग्रेस पार्टीको नेतृत्वमा स्थान लिनुपर्छ’, उनले भनेका छन् ।
‘युवाहरूमा बढेको राजनीतिक वितृष्णा चिर्न र नेपाली कांग्रेसलाई युवा मैत्री बनाउन वडादेखि नगर, क्षेत्र, प्रदेश जिल्ला हुँदै केन्द्रसम्म स्थापित हुन जरुरी छ’, युवा नेता शाहले भनेका छन् ।
उनले भने, ‘तरुण दलका नेताहरूले पार्टीमा स्थान पाउनुपर्छ । १४औँ महाधिवेशनमा तरुणहरू जबरजस्त रुपमा आउनुपर्छ ।’
‘आउँदो दिनमा नेपाली कांग्रेसलाई जनताको पार्टी र युवाको आशा, भरोसाको केन्द्र बनाउन हामी तरुणहरू पार्टीको विभिन्न तहमा आउन जरुरी छ’, सचिव शाहले भनेका छन् ।
‘भिड जम्मा गर्नु मात्रै नभए भिडबाट नेतृत्वमा आउन सक्ने क्षमता तरुणहरूसँग छ’, उनले भने ।
‘भातृ संस्था मात्रै नभएर साथी संस्था भएकोले अब तरुणहरूको उपस्थिति पार्टीमा हुन जरुरी छ’, शाहले भनेका छन् ।
‘नयाँ क्रियाशील सदस्यमा १८ देखि ४५ वर्ष उमेरका युवाको उपस्थिति ४३ प्रतिशत रहेको हुँदा वडादेखि नै तरुण युवाहरू स्थापित हुने कुरामा विश्वस्त छु’, उनले भने, ‘यो उमेर समूहले आफ्नो अधिकारको लागि लड्न जरुरी छ ।’
सचिव शाहले भने, ‘तरुण युवाहरूमा पार्टीको विभिन्न स्थानमा बसेर काम गर्न सक्ने क्षमता भएको हुँदा नेतृत्वमा आउन जरुरी छ ।’
कांग्रेसको १४औँ महाधिवेशन नजिकिएका बेला तरुण युवाले नेतृत्वमा हस्तक्षेप गरेर आउनुपर्ने आवाज उठिरहेका बेला काठमाडौं तरुण दलका सचिव शाहले पनि कांग्रेसभित्र तरुणहरूको जबरजस्त इन्ट्रीको कुरा उठाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया