बेलबारीको ‘बोका काण्ड’को पत्र बाटोतिर हावा खाँदै, ठाउँमा अझै पुगेन

काठमाडौं । मोरङ जिल्लाको बेलबारी नगरपालिकाले बोका र पाठी खरिद प्रकरणमा बद्मासी र झ्याली गरेको अभियोगसहित ग्रो अर्गानिक फर्मलाई कालोसूचीमा राख्न लेखेर पठाएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदीप शाहले ग्रो अर्गानिक फर्मले मापदण्डअनुसारको बोका र पाठी नदिएका कारण कारबाही गरेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेर पठाएको जानकारी दिए ।

‘दुई–तीन दिन अगाडि मेलबाट सार्वजनिक खरिद कार्यालयलाई ग्रो अर्गानिक फर्मलाई कारबाहीका लागि लेखेर पठाएका छौँ’, शाहले भनेका छन् ।

ग्रो अर्गानिक फर्मलाई नगरपालिकाले कालोसूचीमा राख्न लेखेर पठाए पनि सो पत्र अहिलेसम्म सार्वजनिक खरिद अनुगमनको कार्यालयमा आइपुगेको छैन । कार्यालयका निर्देशक एवम् सूचना अधिकृत राजेशकुमार थापाले बेलबारी नगरपालिकाबाट ग्रो अर्गानिक फर्मलाई कारबाही गर्न भनेर पठाएको पत्र आफूहरूले प्राप्त नगरेको बताए ।

‘बेलबारी नगरपालिकाले ग्रो अर्गानिक फर्मलाई कारबाहीका लागि लेखेर पठाएको छ भने पत्र आउला’, उनले भने, ‘पत्र पाउनेवित्तिकै हामीले कारबाही प्रक्रियामा लैजान्छौँ ।’

कार्यालयका निर्देशक थापाले भने, ‘बेलबारीले कालोसूचीमा राख्न कुनै ठेकेदार कम्पनीलाई पठाएको रहेछ भने सो कम्पनीलाई पत्र लेखेर सफाइको मौका दिन्छौँ । एकै पटक कारबाही गर्दैनौँ । छिटोमा पत्र प्राप्त भएको मितिले ३ महिना र ढिलामा ६ महिनाभित्र कारबाही गरिसक्ने कानूनी प्रावधान छ ।’

कालोसूचीमा राख्नका लागि पठाइएका कम्पनीलाई कम्तीमा तीन महिनाभित्र कारबाही गरिसक्नुपर्छ । ढिलामा ६ महिनाभित्र कारबाही गरेर कालोसूचीमा राख्ने कानूनी व्यवस्था छ ।

ग्रो अर्गानिक र्फम हरि तामाङको कम्पनी हो । तामाङ संखुवासभा जिल्लाका हुन् । उनकै कम्पनीले बेलबारी नगरपालिकामा अष्ट्रेलियन जातको ८३ वटा बोका र पाठी खरिद गरेर दिने ठेक्का सम्झौता गरेको थियो । मापदण्ड र ठेक्काका क्रममा तोकिएअनुसारको बोका र पाठी बुझाउन नसकेको भन्दै नगरपलिकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहले ठेकेदार कम्पनीको धरौटी रकम पनि जफत गरिएको बताएका छन् । उनले बोका र पाठीवापतको एकपैसा पनि ठेकेदार कम्पनीलाई नदिइएको बताए ।

ठेकेदार कम्पनीले दिएको बोका र पाठी बुझेर नगरपालिकाले किसानहरूलाई वितरण गरिसकेको छ । बोका र पाठी वितरण गरिसकेपछि नगरपालिकाभित्रका बबण्डर कुराहरू बाहिर आएका छन् । बोका र पाठी काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले पनि छानविन गरिरहेको छ ।

बेलबारी नगरपालिकाले पनि छानविन समिति बनाएको छ । नगरपालिकाले बनाएको समितिले व्यक्तिगत पूर्वाग्रही राखेर असम्बन्धित व्यक्तिहरूलाई फसाउने गरेर हर्कत गरेको आरोप पनि छ ।

मुख्य दोषीलाई उन्मुक्ति दिएर ग्रो अर्गानिक फर्मसँग नामोनिशान नरहेको असम्बन्धित व्यक्तिलाई फसाउन छानविन समितिले विभिन्न हर्कत गरेको गुनासाहरू पनि बाहिर आएका छन् ।

Published : Wednesday, 2021 July 7, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया