संघीयता र धर्म निरपेक्षता खारेज गर्न एमालेभित्र प्रस्ताव, देशभरि स्वागत

काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्न प्रस्ताव गरेका छन् ।

बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटीको बैठकमा बस्नेतले संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने बताएका हुन् । बस्नेतको यो प्रस्तावको एमालेका अधिकांश नेताहरूले समर्थन जनाएका छन् ।

नेता बस्नेत एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीका विश्वास पात्र मानिन्छन् । बस्नेतले राखेको संघीयता र धर्म निरपेक्षताको विषयमा समीक्षा गर्न भनेर राखिएको प्रस्तावलाई ओलीकै प्रस्तावका रुपमा हेरिएको छ ।

‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं’, बस्नेतको भनाइ उदृत गर्दै स्रोतले जानकारी दिएको छ ।

बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ ।

उनले पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

‘पार्टी महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणा पत्रमा यो विषय सम्बोधन गर्न कार्यदल बनाएर जाऔं’, नेता बस्नेतले भनेका छन् ।

बस्नेतले एमालेको केन्द्रीय कमिटीमा राखेको संघीया र धर्म निरपेक्षताको विषयमा समीक्षा गर्न भनेर राखेको प्रस्तावलाई सामाजिक सञ्जालमा स्वागतहरू भएका छन् । सीमित व्यक्ति र नेताहरूले मात्रै बस्नेतको आलोचना गरेका छन् ।

Published : Saturday, 2021 July 3, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया