बेलबारीका हाकिमको दिनदशा बिग्रियो, अख्तियार र मन्त्रालय सक्रिय, निलम्बन गर्न माग
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मोरङको बेलबारी नगरपालिकाको बोयर जातको बोका र पाठी खरिद प्रकरणमा परेको उजुरीमाथि छानविन चलिरहेको जनाएको छ ।
अख्तियारको इटहरी कार्यालयका प्रमुख एवम् सह–सचिव बाबुराम खतिवडाले बेलबारी नगरपालिकाको बोयर जातको बोका र पाठी खरिदका विषयमा अनुसन्धान भइरहेको बताए ।
रिपब्लिका दैनिकसँग बिहीबार कुरा गर्दै उनले भने, ‘बेलबारीको बोका र पाठी खरिदका विषयमा उजुरी परेको छ । छानविन चलिरहेको छ । अरु केही भन्न मिल्दैन । म भन्दैन ।’
प्रमुख खतिवडाले छाविन प्रक्रिया समाप्त भएपछि भ्रष्टाचारको मुद्धा विशेष अदालत काठमाडौंमा दर्ता गरिने बताए । उनले भने, ‘भ्रष्टाचारको छानविन भइसकेपछि सबै मुद्धाहरू विशेष अदालतमा दर्ता गरेर कारबाही अगाडि बढाउने कानूनी प्रक्रिया छ ।’
अख्तियारले बेलबारी नगरपालिकासँग बोका र पाठी खरिद प्रकरणको सबै कागजात कब्जा गरेर सुक्ष्म रुपमा अनुसन्धान शुरु गरिसकेको छ ।
बोका र पाठी प्रकरणमा अख्तियारले छानविन गरिरहेका बेला बेलबारीका प्रमुख प्रशाकीय अधिकृत प्रदीप शाहलाई निलम्बन गरेर अनुसन्धान गर्नेबारे के छ धारणा भन्ने जिज्ञासामा प्रमुख खतिवडाले सो विषयमा केही भन्न नमिल्ने र अनुसन्धान भइरहेकाले आफूहरूले छानविनका क्रममा गर्नुपर्ने सबै काम गरिरहेको बताए ।
बोका र पाठी खरिद प्रकरणमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत शाहले अख्तियारले छानविन गरिरहेको विषयमा प्रमाणहरू नष्ट गर्न सक्नेभन्दै स्थानीय युवाहरूले निलम्बन गर्न माग गरेका छन् ।
सर्वोच्च अदालतमा बहस गर्दै आएका अधिवक्ता शिव अर्यालले कुनै पनि सार्वजनिक निकाय वा सरकारी कार्यालयमा भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रमाण नष्ट हुने आशंका लाग्यो भने निलम्बन गर्न सकिने अधिकार सरोकारवाला अड्डालाई रहने बताए ।
नगरपालिकाले भ्रष्टाचार गरेको भन्दै स्थानीय युवाहरूले प्रदर्शन गर्नेदेखि अख्तियारमा लिखित उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अख्तियारले छानविन चलाएको छ ।
बोका र पाठी खरिदमा अनियमितता र भ्रष्टाचार भएको भन्दै बेलबारी नगरपालिका स्वयंले पनि छानविन समिति बनाएको छ । नगरपालिकाले बोका र पाठी बुझेर किसानलाई वितरण गरिसकेपछि ठेक्का सम्झौता हताहरहतार रद्ध गर्नेदेखि कालो सूचीमा राख्न सिफारिस गर्ने जस्ता अमिल्दा निर्णयहरू गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत शाहले आफ्नो जिम्मेवारी राम्रोसँग बहन नगरेकै कारण ठेकेदार कम्पनीलाई शुरुमै कारबाही गर्नुपर्ने बेला बोका र पाठी बुझेर भुक्तानी गर्ने बेला कारबाही प्रक्रिया अगाडि बढाएपछि स्थानीय युवाहरूले ‘दालमे कुछ काला है’भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।
नगरपालिकाले ८३ वटा बोका र पाठीका लागि १ करोड २४ लाखमा टेण्डर आह्वान गरेका थिए । ग्रो अर्गानिक फर्मले टेण्डर पाएको थियो ।
रिपब्लिका दैनिकसँगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत शाहले आफूहरूले भ्रष्टाचार र अनियमिताता नगरेको प्रतिक्रिया दिएका छन् । मापदण्डअनुसार बोका र पाठी नल्याएको भनेर उनले ठेकेदार कम्पनीलाई दोष दिएका छन् । उनले अख्तियारले खरिद प्रक्रिया र सम्पूर्ण कागजपत्र मागेपछि सबै लिखतहरू पठाइएको बताए । शाहले आफूलाई निलम्बनका लागि कुनै संस्था वा कार्यालय कसैले पनि दवाव नदिएको बताएका छन् ।
प्रमुख प्रशासकीय शाहविरुद्ध संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसम्म मौखिक उजुरी परेको स्रोतले जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालसमक्ष प्रमुख शाहविरुद्ध मौखिक उजुरी परिसकेको छ ।
विवादमा तानिएका प्रमुख प्रशासकीय अधिकृत शाहले राम्रोसँग जिम्मेवारी बहन नगरेको भन्दै सिंहदरबारस्थित मन्त्रालयमा चर्चा हुन थालेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया