खुमलटारमा अचानक खुसीयाली साटासाट

काठमाडौं । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरू पद मुक्त भएका छन् ।

शुक्रबार निर्वाचन आयोगले सूचना जारी गरेर नगरपालिका र गाउँपालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो ।

उनीहरूलाई पदमुक्त गर्न आयोगलाई लिखित अनुरोध गरेको थियो । २०७४ सालको नगरपालिका र गाउँपालिकाको चुनावमा उनीहरू माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

दुई मेयर र पाँच उप–मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

रौतहटको मैलापुर नगरपालिकाका मेयर रिनाकुमारी साह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका छन् ।

महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।

रौतहटको देवाही गुनाही नगरपालिकाकी उप–मेयर परनिया देवी, मैलापुर नगरपालिकाका उप–मेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उप–मेयर कान्ति देवी, माधवनारायण नगरपालिकाकी उप–मेयर सिमलकुमारी शाह पदमुक्त भएका छन् ।

यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाकी उप–मेयर छायाँदेवी देवकोटा पदमुक्त भएकी छिन् ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका–४ का वडाध्यक्ष भागरथी विष्ट पनि पदमुक्त भएका छन् ।

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ का वडाध्यक्ष पुरनसिंह विसी पनि पदमुक्त भएका छन् ।

एमालेमा लागेकाहरूलाई कारबाही गर्दै आएको माओवादीले यसअघि राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सांसदहरूका पद उडाइदिइसकेको छ । एमाले प्रवेश गरेकाहरू पदमुक्त भएपछि खुमलटारमा खुसीयाली छाएको चर्चा छ ।

Published : Friday, 2021 June 25, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया