शीतल निवासमा ‘जलसा’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मर्यादा विपरित गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बिफ्रिङ लिएको भनेर आलोचना भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार गएका गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग भण्डारीले मुलुकको पछिल्लो अवस्थाका विषयमा बिफ्रिङ लिएको स्रोतले जनाएको छ ।

संवैधानिक राष्ट्रपतिले गृह मन्त्री र गृह सचिवसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बिफ्रिङ लिन संविधान र लोकतन्त्र विरुद्ध भएको नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले बताएका छन् ।

‘राष्ट्रपति पद कार्यकारी होइन । संवैधानिक पद हो । मुलुकको गृह मन्त्री, गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बिफ्रिङ लिनु संविधान र लोकतन्त्रविरुद्ध हो’, खतिवडाले रिपब्लिका दैनिकसँग भने, ‘मुलुकको कार्यकारी प्रमुख भनेको प्रधानमन्त्री हो । प्रधानमन्त्रीसँग राष्ट्रपतिले केही कुरा गर्नुपर्दा वा सरसल्लाह लिँदा परामर्श गर्ने हो । सिधै सुरक्षा प्रमुखलाई बोलाएर बिफ्रिङ लिने अधिकार छैन ।’

राष्ट्रपति भण्डारीले गृह मन्त्री, गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई किन बोलाएकी हुन् केही भनिएको छैन ।

Published : Friday, 2021 June 18, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया