कांग्रेसद्वारा जनताको सुरक्षा, बाढीपहिरोमा परेकाहरूको उद्धार र राहतको माग
काठमाडौं । नेपाली कांग्रेसले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक मनाङ, गोरखा, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, डोटी, जाजरकोट, ताप्लेजुङ्ग लगायतका विभिन्न जिल्लाहरूमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको भन्दै चिन्ता जनाएको छ ।
बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले जनताको सुरक्षाका साथै उद्धार र राहतमा सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढीपहिरोबाट भएको जनधनको क्षतिका विषयमा जानकारी गराएका थिए ।
सिन्धुपाल्चोक जिल्लामा ६ जना, बाजुरा, कास्की, पाल्पा र डोटीमा एक/एक जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, प्यूठान, गोरखा र अर्घाखाँचीमा एक÷एक जना वेपत्ता भएका छन् ।
बाढी पहिरोपछिको विपद केन्द्रित खोज तथा उद्धार कार्य जारि रहेकाले मृतक तथा वेपत्ताको संख्या अझै बढ्न सक्ने अवस्था रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले विपतमा परी ११ जना घाइते भएको जनाएको छ । यस दुःखद घडीमा मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै कांग्रेसले परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको यो कामना गरेको छ ।
‘हालसम्मको विवरण अनुसार ८९ घर÷आवास लगायत भौतिक संरचनामा बाढी पहिरोबाट पूर्ण र २६ वटामा आंशिक क्षति पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रकोपबाट सार्वजनिक, निजी तथा जलविद्युत आयोजनाका संरचना पनि नष्ट भएका छन् ।’
‘वर्षापछि आएको बाढीले १६५ वटा घर डुवानमा परेका छन्’, कांग्रेसले भनेको छ, ‘विभिन्न स्थानलाई जोड्ने पक्कीपुल, झोलुङ्गेपुल बगाएको छ, सडक मार्ग समेत क्षतिग्रस्त भएर आवागमन अवरुद्ध भएको छ ।’
‘हजारौंको संख्यामा मानिसहरू विस्थापित भएका छन् । नागरिकको जनजीवन अस्तव्यस्त भएको छ’, कांग्रेसले भनेको छ, ‘हरेक वर्षायाममा आउने यस प्रकारको विपत्तिवाट जोगिन पूर्व तयारीमा जुटनु पर्ने सरकार गैर जिम्मेवार र असंवेदनशील हुनुले यस्तो दुःखद् नियतिको शिकार सिंगो मुलुक र नागरिकहरू हुनु परेको छ ।’
‘यस विषम परिस्थितिमा हराएकाहरूको खोजी, उद्धार, घाइतेहरूको उपचार र विस्थापित भएका मानिसहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न र राहत कार्यमा जिम्मेदारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘बाढी पहिरोको जोखिम आगामी दिनमा थप बढ्न सक्ने पूर्व अनुमान दृष्टिगत गर्दै देशभर सबैलाई सजग भएर यसको सामना गर्न तथा हाम्रो स्थानीय पार्टी पंक्तिलाई सकृयतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आव्हान गर्दै सरकारका तीनवटै तहहरूलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुटन आग्रह गरिन्छ’, कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया