बुरुक–बुरुक गर्ने एमाले र त्यसका भ्रातृ संगठनलाई कांग्रेसले थचक्कै पारिदियो
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रदेश सभा बैठकमा बोलेको कुरालाई लिएर एमाले र उसका भ्रातृ संगठनहरूले उत्पात मच्चाएपछि विरोध गर्दै संविधान विपरितका हर्कत नगर्न चेतावनी दिएको छ ।
ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिअनुसार प्रदेश सांसद नरोत्तम बैद्यले आफूले बोलेका कुरा फिर्ता लिएर रेकर्डबाट हटाइसकेको विषयलाई एमालेले उठाएर राजनीति गर्न खोजेको भन्दै आपत्ति जनाइको छ ।
‘संविधानको प्रतिकुल हुने गरी कुनै पनि प्रक्रिया नगर्न, नगराउन नेपाली कांग्रेस सरकारलाई सचेत गराउँछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘संसदमा वोलेको विषय संसदको नियम अनुसार संसदमै टुंगिसकेपछि पनि, उक्त विषयलाई लिएर आग्रहका साथ नरोत्तम बैद्यविरुद्ध दिएको जाहेरी दर्ता गर्नु र प्रक्रिया अगाडि बढाउन खोज्ने बदनियतप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको संविधानको धारा १८७ ले “प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारवाही चलाइने छैन” भन्ने कुरा स्पष्ट गरेको छ’, कांग्रेसले एमालेलाई संविधानबारे पाठ सिकाउँदै भनेको छ, ‘यस उपर सभामा अभिव्यक्ति दिने सदस्य स्वयंले आफुले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरेको र सभामुखले हटाउन आदेश दिएर, संसदको विषय संसदमै टुंग्याइसकेपछि पनि सरकारको ठाडो निर्देशनमा प्रदेश सभा सदस्य विरुद्ध उजुरी लिई कारवाहीको प्रक्रिया अगाडि बढाउनु प्रदेश सभाको विशेषाधिकारविरुद्ध हो, संविधान विपरित हो भन्ने कांग्रेसको ठहर छ ।’
‘बागमती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले जेठ २८ गते प्रदेश सभामा दिएको अभिव्यक्ति अमर्यादित भएको भन्दै नेपाली कांग्रेस र नेपाली कांग्रेस संसदीय दल वाग्मती प्रदेशले, तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन नरोत्तम बैद्यलाई निर्देशन दिएको र सोही अनुरुप नरोत्तम बैद्यले आफूले बोलेको कुरा फिर्ता लिई जेष्ठ २९ गतेको प्रदेश सभा बैठकमा संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले भनेको छ, ‘त्यस पश्चात सो अभिव्यक्ति संसदको रेकर्डबाट हटिसकेको विदित नै छ ।’
एमाले र उसका भ्रातृ संगठनहरूले कांग्रेस सांसद बैद्यविरुद्ध प्रहरीमा जाहेरी दिनेदेखि गृहमन्त्री खगराज अधिकारीलाई भेटेर पक्राउ गरेर कारबाहीको माग गरेर बबण्डर मच्चाउन थालेपछि कांग्रेसले घटनालाई उत्तेजित नबनाउन चेतावनी दिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया