गण्डकीमा कीर्ते गर्नेहरूको कठालो समात्ने कांग्रेसको संकेत, एमालेलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ गरेको भन्दै गम्भीरतापूर्वक ध्यान आकृष्ट भएको जनाएको छ ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर भनेको छ, ‘मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएको स्थितिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखको आह्वान बमोजिम नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश सभाका बहुमत सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पदमा दाबी पेश गर्नु भएको सर्वविदित छ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँको पक्षमा हस्ताक्षर गरेका सांसदहरूको भौतिक उपस्थिति समेत दावीको क्रममा हिजो तथा आजफेरि पनि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छ’, कांग्रेसले भनेको छ ।

‘दुईदिन अघि मात्रै संसदमा विश्वासको मत गुमाएका ब्यक्तिको पुनः मुख्यमन्त्रीमा दावी एकातर्फ हास्यास्पद त छ नै अर्कातर्फ यसले षड्यन्त्रको गम्भीर आशंका र आभास पनि गराएको छ’, कांग्रेसले भनेको छ ।

‘शीतल निवासमाझैं षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेले फेरि कीर्ते गरेर गण्डकी प्रदेश सभा विघटनको तयारी गरेपछि कांग्रेसले सचेत गराएको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता नेपालीलाई नियुक्त गर्न माग गरेको छ ।

Published : Saturday, 2021 June 12, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया