एमालेको पुच्छर बन्ने डीआईजी, एसपी र सीडीओ कांग्रेसको ब्ल्याक लिस्टमा, शुक्रबार पोखरामा उथलपुथल हुने

पोखरा । नेपाली कांग्रेस कास्कीले आफ्नो पार्टीका नेता गणेश लामालाई विनासर्त तत्काल रिहा गर्न माग गर्दै सत्ताका भजनमण्डलीहरूसँग उचित समयमा बदला लिने चेतावनी दिएको छ ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले पोखराको लेकसाइडमा बसेका कांग्रेस नेता लामालाई विना कारण राजनीतिक प्रतिशोध साँधेर प्रहरी र स्थानीय प्रशासनले दुःख दिन पक्राउ गरेको भन्दै आक्रोश पोखेका छन् । लामासहित कांग्रेसका नेताहरू चन्द्र लामा र रमेश खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

रिपब्लिका दैनिकसँग बिहीबार राति कुरा गर्दै सभापति केसीले भने, ‘एमालेको गण्डकी प्रदेशको सरकार विश्वासको मत पाउन नसकेर ढलेपछि सत्ताको दुरुपयोग गरेर कांग्रेससँग राजनीतिक प्रतिशोध साँध्न नेता गणेश लामालाई प्रहरी प्रशासनले पक्राउ गरेको छ । यसको मूल्य चुकाउनु पर्छ ।’

‘एमालेको भक्तिभाव र निर्देशन मानेर कांग्रेसका नेता कार्यकर्तालाई दुःख दिने कास्कीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र बैदाम प्रहरीका प्रमुख डीएसपी, गण्डकी प्रदेशका प्रहरी प्रमुखको हिसाब किताब राखेका छौँ । कांग्रेसले उचित समयमा उचित दण्ड दिनेछ ।’

कास्की प्रहरीले बिहीबार करीव ४ बजे नेपाली कांग्रेसका युवा नेता लामालाई पोखराको लेकसाइडको होटेलमा बसेका बेला निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा पक्राउ गरेको थियो ।

कास्की प्रहरीका प्रमुख एसपी जीवन श्रेष्ठले कांग्रेस नेता गणेश लामासँग निषेधाज्ञाका बेला पोखरा किन आएको हो भनेर सोधपुछ गर्न गिरफ्तार गरिएको बताए । ‘हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’, एसपी श्रेष्ठले भने, ‘सोधपुछ चलिरहेको छ । छाड्ने कुरा हुँदैन ।’

कांग्रेस नेता लामालाई पक्राउ गर्नुको कारण सोध्न कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई सम्पर्क गर्दा फोन उठेन । बैदाम प्रहरी चौकीमा डीएसपी चिनु तामाङ छिन् । उनले कांग्रेस नेता लामालाई हिरासतमा राखेकी छिन् ।

गण्डकी प्रदेशको प्रमुखमा डीआईजी घनश्याम अर्याल छन् । डीआईजी अर्याललाई एमालेका नेता एवम् नवनियुक्त गृहमन्त्री खगराज अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दवावमा कांग्रेस नेता लामालाई पक्राउ गरेको कांग्रेसले आरोप लगाएको छ ।

कास्की घर भएका एमालेका नेता अधिकारीले बिहीबार मात्रै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अधिकारीले गृह मन्त्रीको जिम्वेवारी सम्हालेकै दिन एमालेको गण्डकी प्रदेश सरकार ढलेको छ ।

मुख्यमन्त्री गुरुङले मध्यावधी घोषणा गरेर जाने पक्षमा छन् । गण्डकी प्रदेश सभा विघटन गरेर मध्यावधी निर्वाचनमा जाने मुख्यमन्त्री गुरुङको योजनामा उनकै मन्त्रिपरिषदका सदस्य युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले अस्वीकार गरेर विश्वासको मत नदिएपछि एमालेका नेताहरू तनाबमा परेका छन् । तनाबमा परेको एमालेले कांग्रेस नेता लामालाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको आरोप कांग्रेस सभापति केसीको छ ।

कास्की कांग्रेस सभापति केसीले लामालाई विनासर्त तत्काल रिहाइ नगरिए शुक्रबारदेखि कांग्रेसले पोखरामा निषेधाज्ञा उल्लंघन गरेर कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध सडक तताउने चेतावनी दिएका छन् ।

‘कांग्रेस कानूनी शासन र लोकतन्त्रलाई मान्ने पार्टी हो । कांग्रेसले आफैले बनाएको संविधानलाई पालना गर्न र गराउन जस्तो सुकै कदम उठाउन तयार छ’, सभापति केसीले चेतावनी शैलीमा भने, ‘सत्ता फुत्तिकिनेवित्तिकै राजनीतिक प्रतिशोधन साँधेर गणेश लामालाई पक्राउ गरेर जुन हर्कत प्रहरी र प्रशासनले गरेको छ त्यो अत्यन्तै खेदजनक छ । यसको हिसाब किताब राखेका छौँ ।’

सभापति केसीले भने, ‘राजनीतिक प्रतिशोधन राखेर कांग्रेसका नेता कार्यकतालाई दुःख दिने एमालेका पुच्छरहरूलाई छाड्नै छैनौँ । सत्ताको ताबेदारी गर्नेहरूको दिन गन्ती शुरु भएको छ ।’

Published : Thursday, 2021 June 10, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया