धेरैले खेद्न थालेपछि देउवाले दिए मन छुने अपील, यस्तो रहेछ वास्तविक कुरा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई लिएर भ्रम नपाल्न अनुरोध गरेका छन् ।
सभापति देउवाले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशन गर्न आफू कटिबद्ध रहेको भन्दै अविश्वास नगर्न आग्रह गरेका हुन् । उनले कुनै पक्षले महाधिवेशन गर्न चाहेको र कुनै पक्षले महाधिवेशन गर्न नचाहेको भनेर भ्रम नफैलाउन पनि आग्रह गरेका छन् ।
‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भदौ महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ’, देउवाले भने, ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु ।’
‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु’, देउवाले विज्ञप्तिमा भनेका छन् ।
‘महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु’, उनले भने, ‘पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् ।’
सभापति देउवाले भने, ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य हो ।’
‘यसका लागि सबै जिम्मेवार हुनु पर्दछ । हामीसँग अब बढी समय छैन’, देउवाले भने, ‘असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ ।’
‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ’, देउवाले भने, ‘यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् ।’
‘पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिनेछन्’, सभापति देउवाले भनेका छन् ।
‘म पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरु, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, देशभरिका पार्टी सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरू, विदेशस्थित जनसम्पर्क समितिका साथीहरूलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु’, देउवाले विज्ञप्तिमा भनेका छन् ।
उनले भने, ‘कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु ।’।
‘कोभिड–१९ को महामारीले लामो समयदेखि हामी अत्यन्त कठिन अवस्थामा छौं’, देउवाले भने, ‘संक्रमणका कारण पार्टीका धेरै साथीहरू, साथीहरूका परिवारका सदस्य र नागरिकहरूले ज्यान गुमाउनु भयो भने कतिपय निकै पीडामा रहनु पर्यो ।’
उनले भने, ‘म कोभिड–१९ का कारण दिवंगत हुनु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
‘संक्रमणका कारण घरमा आइसोलेसनमा बस्नु भएका वा अस्पतालमा भर्ना हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, उनले भनेका छन् ।
‘संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको राय अनुसार रहन, बस्न अनुरोध गर्दछु’, देउवाले भने, ‘सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण यो अवस्था सृजना भएको छ । यसमा सरकार पूर्ण रुपले दोषी छ’ ।
१४औँ महाधिवेशनलाई लिएर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले सभापति देउवामाथि संगिन आरोपहरू लगाएर बद्नाम गर्न थालेपछि देउवाले ती आरोपहरूको खण्डन गरेका छन् ।
१४औँ महधिवेशन तोकिएको समयभित्र गर्नका लागि स्वयं पौडेल र सिटौला समूह नै तयार छैन । पौडेल र सिटौला समूहको असहयोगका कारण विभिन्न जिल्लाहरूबाट क्रियाशील सदस्यताको नामावली आउन सकेको छैन ।
सहमतिका साथ आफू अगाडि बढ्न चाहेको बताएका देउवालाई पौडेल–सिटौला समूहको ठूलो असहयोग छ । पौडेल–सिटौला समूहले प्रत्येक हप्ता गुटको बैठक राखेर देउवालाई चरम असहोग गर्दै आएका छन् । देउवालाई सहयोग गरेर महाधिवेशन गर्न दवाव दिने बेला पौडेल–सिटौला समूह विभिन्न स्वार्थ समूहको उक्साहटमा लाग्ने गरेको आरोप छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया