गगनसहितका युवा नेताहरू बुढानिलकण्ठमा, देउवाले गम्भीर भएर सुने कुरा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई युवा नेताहरूले तोकिएको समयमा महाधिवेशन गर्न विभिन्न सुझावहरू दिएका छन् ।

मंगलबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवालाई युवा नेताहरूले क्रियाशील सदस्यता र कोरोना संक्रमणका विषयमा विभिन्न सुझाव दिएका हुन् ।

देउवालाई भेट्न धनराज गुरुङ, बद्रीप्रसाद पाण्डे, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, जीवन परियार र चन्द्र भण्डारी निवासमा पुगेका थिए ।

युवा नेताहरूले महाधिवेशनको कार्यतालिका छोट्याउन सभापतिलाई सुझाएका छन् ।

कांग्रेसले हालसम्म नौ लाख क्रियाशील सदस्यता वितरण गरेको छ । क्रियाशील छानविन समितिले केही दिनमा करिब आठ लाख सदस्यको नामावली पनि सार्वजनिक गर्दैछ ।

प्राप्त आठ लाखमध्येका केही सदस्यमा मात्रै विवाद हुने र त्यसको निरुपण गर्न सकिने प्रदीप पौडेलले बताएका छन् ।

क्रियाशील सदस्यताका कारण महाधिवेशन रोकिन नपर्ने कारण प्रस्ट्याएपछि युवा नेताहरूले कोरोनाको बारेमा पनि देउवालाई विकल्पहरू दिएका थिए ।

युवा नेताहरूले कोरोना महामारीको बेला भएकाले विगतभन्दा यसपटक फरक तरिकाले महाधिवेशन गर्न सकिने विकल्प अघि सारेका छन् ।

महाधिवेशनलाई विकेन्द्रित गरेर गर्न सकिने थापा, भण्डारी, गुरुङलगायतका नेताको सुझाव छ ।

जति भयावह भए पनि महाधिवेशन गर्नैपर्ने हुन्छ भन्ने धारणा युवा नेताहरूको छ । त्यसका लागि कार्यतालिका छोट्याउन सकिन्छ ।

धेरै जनालाई एकै स्थानमा जम्मा हुन नपर्ने गरी विधि अपनाउन युवा नेताहरूको प्रस्ताव छ ।

युवा नेताहरूले विकल्पका बारेमा कुरा गरेपछि सभापति देउवाले त्यस्तो विधि के हुन्छ ? भनेर प्रश्न गरेका थिए ।

पत्रकार महासंघले अवलम्बन गरेको विधिमार्फत् जिल्ला–जिल्लाबाट मत खसाउन सकिने विकल्प सुझाव दिइएको छ ।

एउटा क्षेत्रको २५ जना मतदाता हुने भएकाले भीडभाड नहुने तर्क देउवालाई युवा नेताहरूले दिएका छन् ।

सात सय क्रियाशील सदस्य भएको कुनै स्थान छ भने त्यहाँ सात ठाउँमा बुथ राखेर मतदानको व्यवस्था गर्न सकिने सुझाव दिइएको छ ।

युवा नेताहरुले दिएको सुझावलाई कार्यान्वयनमा लैजानेबारे भने सभापति देउवाले कुनै प्रतिक्रिया दिएका छैनन् ।

सभापति देउवाले पदाधिकारी बैठक बोलाएर महाधिवेशनका विषयमा छलफल गर्ने बताएका छन् ।

केही दिन अगाडि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको जुमबाट बैठक बसेर सभापति देउवालाई महाधिवेशन गर्न दवाव दिने निर्णय गरेका थिए ।

सोही निर्णयानुसार मंगलबार देउवासँग भेटेर गगन थापासहितका नेताहरूले १४औँ महाधिवेशन गर्न दवाव सिर्जना गरेका हुन् ।

Published : Tuesday, 2021 June 8, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया