निरिह बन्यो ओली समूहको एमाले, बालुवाटारले ‘लड्डु’ खायो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा भट्टले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । भट्टको आग्रहमा ३० सांसदले पक्षमा मत दिएका छन् ।

मतदानमा माओवादी केन्द्रका १३ जना र एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् ।

कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका छन् ।

एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो ।

एमाले ओली पक्षका सांसदहरू पठानसिंह बोहरा, नेपालु चौधरी, लीलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू रहेका छन् ।

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा एमालेले कीर्ते काण्ड गरेर मुख्यमन्त्री पद कब्जा गरेको भनेर आरोप लागेका बेला माओवादीले सुदूरपश्चिम प्रदेशमा ओली समूहको एमालेलाई तोरीको फूल देखाइदिएको छ । ओलीलाई कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा माओवादीले चक्मा दिएको छ । प्रदेश २ मा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव समूहले सत्तामा जाने बाटो बन्द गरिदिएको छ ।

ओली नेतृत्वको एमाले अब लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा छ । केन्द्रमा ओली आफैले संविधानविरुद्धको कदम उठाएर सत्ता कब्जा गरेको आरोप छ । ओलीले विपक्षी दल नेपाली कांग्रेसलाई सत्ता नदिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुरुपयोग गरेर प्रतिनिधि सभा विघटन गरेको आरोप छ ।

ओली–भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेससहितका नेताहरूले पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उता, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने सात जना ओली नेतृत्वको एमालेका सांसदलाई स्पष्टीकरण सोधिएको छ ।

भट्टलाई समर्थन गर्न जारी ह्वीप उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाशबहादुर शाहले बुधबार बेलुका ५ बजेभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन गरेका हुन् ।

मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने ओली पक्षका एमाले सांसद पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, गेल्वुसिंह बोहरा, माया तामाङ बोहरा र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको छ ।

मंगलबार बिहान बसेको एमाले प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री भट्टलाई एमाले माधव नेपाल पक्षका १७ जनाले विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका १३ सहित भट्टले ३० मत प्राप्त गरेर विश्वासको मत लिएका थिए । बहुमतका लागि उनलाई २७ मत मात्रै आवश्यक थियो ।

Published : Tuesday, 2021 June 8, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया