महेश बस्नेतको मासु–भारत खाएका ठाकुर–महतो समूहभित्र अचानक पहिरो गयो, ओलीसँग ‘धुरुधुरु’

काठमाडौं । कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई साथ दिएका जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो एक्लिने क्रम तीब्र रुपमा शुरु भएको छ ।

ओलीलाई साथ दिएका ठाकुरलाई उनकै समर्थक छ जना प्रभावशाली नेताहरूले छाडेका छन् । केन्द्रीय कार्यकारिणी समितिका ६ जना सदस्यले छाडेपछि ठाकुर-महतो तनाबमा परेको चर्चा जसपाभित्र छ ।

तराईमा जातीय राजनीति गर्दै आएका ठाकुरलाई अनुदारवादी नेताका रुपमा आलोचकहरूले चर्चा गर्ने गर्छन् ।

ठाकुरलाई ६ जना कार्यकारिणी समितिका सदस्यहरूले छाडेपछि अध्यक्ष उपेन्द्र यादव बहुमतमा देखिएका छन् । अध्यक्ष यादव बलियो अवस्थामा बसेका छन् ।

ठाकुरलाई कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादवले छाडेका छन् । ठाकुरलाई यसअघि महेन्द्र यादव, गजाधर यादव र रमेश यादवले पनि छाडिसकेका छन् ।

ठाकुरलाई छाडेका नेताहरूले जसपाको पार्टी विभाजनलाई बचाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन् ।

ठाकुरलाई छाडेका मृगेन्द्रसिंह राष्ट्रियसभाका सांसद हुन् । रामनेरश र साह प्रदेश २ का मन्त्री हुन् ।

ठाकुर–महतो समूह ओलीको सरकारमा मन्त्री बनेर सहभागी भएमा अझै पहिलो जाने सम्भावना छ । धेरै नेताहरूले ठाकुर–महतोलाई छाड्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

अध्यक्ष यादवसँग कार्यकारिणी समितिमा ३१ जना सदस्य रहेको एक नेताले बताएका छन् । ठाकुरलाई छाड्ने सदस्यहरूको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

ठाकुरलाई पार्टी फुटाउन ४० प्रतिशत सदस्य संख्या पुग्न नदिने रणनीतिका साथ अध्यक्ष यादव अगाडि बढेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पु¥याउनुपर्छ । जसपाले ५१ सदस्यीय कार्यकारिणी र ८ सय सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

८ सय सदस्यीय केन्द्रीय समितिमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टीबाट ४ सय र महन्थ ठाकुरलगायतले नेतृत्व गरेको तत्कालीन राजपा समूहबाट ४ सय राख्ने सहमति भएको छ ।

केन्द्रीय समितिमा अहिले तत्कालीन समाजवादीका ४ सय र तत्कालीन राजपाका ३ सय ७९ जना छन् ।

तत्कालीन राजपा समूहबाट २१ जनाको नाम दिन बाँकी छ । यी दुई पार्टी मिलेर गत वर्षको वैशाखमा जसपा बनेको थियो । ओलीले एक वर्ष अगाडि मधेस केन्द्रित दल विभाजन गर्न खोजेपछि दुई पार्टी एकीकरण भएका थिए । अहिले ओलीकै कारण जसपा फुटको संघारमा छ ।
जसपा विधानमा कार्यकारिणी समितिलाई पार्टीको निर्णय गर्ने अधिकार दिइएको छ ।

कार्यकारिणीको निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ ।

अध्यक्ष यादवका ५ सांसद यसअघि ठाकुरतिर लागेका छन् । सांसदहरू उमाशंकर अरगरैया, विमल श्रीवास्तव, रुहीनाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङले अध्यक्ष यावलाई छाडेर ठाकुरलाई साथ दिएका थिए । ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उनीहरू विचल्लीमा परेका छन् ।

यसैबीच, उपेन्द्र यादवले जसपाभित्र बहुमत पुर्‍याएर ठाकुर–महतो समूहलाई अल्पमतमा झारिदिएपछि ओलीसँग गुनासो गरेको चर्चा जसपाभित्र छ ।

बिहीबार बालुवाटारमा अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीभित्रको लफडाबारे जानकारी गराएका छन् । ओलीलाई भेट्न शरतसिंह भण्डारी र अनिल झा पनि बालुवाटार गएको एक नेताले बताएका छन् ।

एमालेका नेता एवम् प्रधानमन्त्री ओलीका विश्वासपात्र भनेर चिनिएका महेश बस्नेतले ठाकुर–महतो समूहका सांसदलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा भात र मासु खवाएपछि जसपाभित्र मिल्नै नसक्ने गरेर विवाद भएको थियो ।

बस्नेतले जसपाका सांसदहरूलाई गाडीमा हालेर बबरमहलस्थित पूर्वराजपाको पार्टी कार्यालयबाट रिर्सोटमा लगेका थिए । उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदलाई एमालेका नेता बस्नेतले अपहरण गरेको भनेर असन्तुष्टि समेत जनाएका थिए ।

महेश बस्नेतकै उपस्थितिमा डोलेश्वर रिसोर्टमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भन्दै अध्यक्ष यादवले महतोलाई दलको नेताको मान्यता दिएका थिएनन् ।

Published : Friday, 2021 June 4, 7:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया