एमालेको पुच्छर बन्दा थापाको सांसद फुत्कियो, मुख्यमन्त्रीको कुर्सी पनि धरापमा

पोखरा । एमालेको सरकार बचाउन भूमिका खेलेका गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद फुत्किएको छ ।

थापालाई सांसद पदबाट पनि निष्काशित गरिएको छ । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई यसअघि नै पार्टीबाट निष्काशित गरेको थियो ।

गण्डकी प्रदेशसभामा नयाँ सरकार गठनका क्रममा पार्टीको निर्देशन विपरीत एमालेलाई सहयोग पुग्नेगरी गतिविधि गरेको भन्दै थापालाई जनमोर्चाले निष्काशन गरेको थियो ।

थापा यसअघि पार्टीको संसदीय दलका नेतासमेत थिए । शुरुमा उनलाई संसदीय दलको नेता र त्यसपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो ।

थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री बनेका थिए ।

बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले थापालाई पदमुक्त गर्न प्रदेशसभाको सचिवालयलाई पत्राचार गरेको थियो ।

जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले थापाको सांसद पद खारेजीका सचिवालयमा पत्र बुझाएका हुन् ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे शुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहनेछ ।

योसंगै गण्डकीमा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नपुग्ने पक्का भएको छ । एमालेको सरकार गण्डकी प्रदेशमा ढल्ने सम्भावना बढेर गएको छ ।

नेपाली कांग्रेससहितको विपक्षी दलहरूको गठबन्धनलाई छल्दै एमालेका गुरुङ मुख्यमन्त्री बनेका थिए । तैपनि गुरुङको मुख्यमन्त्री पद सुरक्षित भएको छैन ।

Published : Thursday, 2021 June 3, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया