नेपाल समूहसँग थुरथुर भए ओली, बिहीबार उठाए यस्तो कदम

काठमाडौं । एमालेले वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार बिहान विज्ञप्ति जारी गरेर अनधिकृत समूहले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएका हुन् ।

‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरित पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु’, सचिव तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु’, एमालेका सचिव तामाङले भनेका छन् ।

माधव नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेपाल–खनाल समूहको बैठक बिथोल्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले विभिन्न रणनीति बनाएका छन् ।

नेपाल–खनाल समूहसँग ८८ जना केन्द्रीय सदस्य छन् । नेपाल–खनाल समूहले ओलीलाई पाठ सिकाउन एमालेभित्र पार्टी शुद्धीकरण अभियान चलाएका छन् ।

दुई पटक प्रतिनिधि सभा विघटन गरेका ओलीले प्रधानमन्त्री पद बचाउन नेपाल–खनाल समूहसँग देखावटी वार्ता गरिरहेका छन् । नेपाललाई बाहिर राखेर ओलीले पार्टी एकताको प्रयास गरेको भन्दै आलोचना भइरहेको छ ।

Published : Thursday, 2021 June 3, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया