सर्वोच्चले पत्रकारहरूसँग पंगा लियो, ओली–राणाको समाचार ब्रेक गर्ने यी दुई पत्रकार झुकेनन्
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको समाचार लेखेका दुई पत्रकारहरूलाई बोलाएर कानून विपरित माफी माग्न र स्रोत खुलाउन दवाव दिएको छ ।
‘इमेज खबर डटकम’का सम्पादक राजन कुइँकेल र ‘नेपाल समय डटकम’का प्रधानसम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले माफी माग्न दवाव दिएको सम्पादकद्वय कुइँकेल र अमृतले बताएका छन् ।
सर्वोच्च अदालतका राजिष्ट्रार पन्थीले माफी माग्न र स्रोत खुलाउन दवाव दिएपछि सम्पादकद्वय कुइँकेल र अमृतले सिधै अस्वीकार गरिदिएका थिए । कुइँकेल र अमृतले भने, ‘हामीले माफी पनि माग्दैनौँ । स्रोत पनि खुलाउँदैनौँ ।’
उनीहरूले रजिष्ट्रार पन्तीलाई जवाफ दिँदै भने, ‘समाचारमा चित्त बुझ्दैन भने खण्डन पठाउनुस् । तपाईहरूले भनेअनुसार माफी माग्दैनौँ । स्रोत खालाउन पनि सकिदैन ।’
सम्पादकद्वय कुइँकेल र अमृतसँग नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी पनि सर्वोच्च अदालत पुगेका थिए ।
यसैबीच, नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले समाचारको विषयमा पत्रकारहरूलाई बोलाएर सोधपुछ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ’, महासंघले भनेको छ ।
‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो’, महासचिव पुरीले भनेका छन् ।
‘महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ’, विज्ञप्तिमा महासंघका महासचिव पुरीले चेतावनी शैलीमा भनेका छन् ।
यसअघि, सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच भेटवार्ता नभएको जनाएको छ ।
सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेट नभएको जनाएका छन् । उनले केही अनलाइनहरूमा ओली र राणाबीच भेट भएको भनेर आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्सामा प्रतिकूल प्रभाव पर्ने गरि अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद् र खेदजन्य विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पर्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्य अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो ।’
‘यस प्रकारका कार्यहरू संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौँ’, चेतावनी शैलीमा विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’
सोमबार राति ओली र राणाबीच बालुवाटारमा भेटवार्ता भएको समाचार आएपछि प्रधानन्यायाधीश राणाले सो समाचारको खण्डन गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया