मन्त्रीको शपथ लिने तयारी भएका बेला ठाकुर–महतोलाई तनाब थपियो
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको छ ।
राजधानीमा दुई दिन बसेर आइतबार सम्पन्न भएको कार्यकारिणी समितिको बैठकले पार्टीको हितविपरितको कार्य गर्ने जो कोहीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा महन्थ ठाकुर–राजेन्द्र महतो समूहको सहभागिता थिएन ।
अध्यक्ष यादवले महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताएका छन् । सोमबार ठाकुर–महतो समूहले मन्त्री पदको शपथ लिने तायारी गरेका बेला यादव समूहको निर्णयले तनाब बढाइदिएको छ ।
‘पार्टीको नीति सिद्धान्त विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
जसपाले प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३१ जना बैठकमा उपस्थित भएको दाबी गरिएको छ ।
जसपाको बहुमत कार्यकारिणी सदस्यको बैठकले पार्टीको कार्यकारी अधिकार यादवलाई दिएको छ ।
कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्नेलगायतका अधिकार समेत यादवले पाएका छन् ।
ठाकुर–महतो एमालेको ओली सरकारमा सहभागी हुने अन्तिम तयारी गरिरहेका बेला यादवले उनीहरूलाई कारबाही गर्न थालेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया