ओलीले मन्त्रिपरिषद विस्तार गर्ने, महतोलाई गृह मन्त्रालय, भारतीय चेली पनि मन्त्री बन्ने
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)का मन्त्रीहरू समेटेर सोमबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
स्रोतका अनुसार ओलीले ठाकुर–महतोसँग मन्त्रीहरूको सूची मागेका छन् । जसपाभित्र मन्त्री बन्न धेरैले इच्छा जनाएका छन् । ओलीले ठाकुर–महतोलाई उप–प्रधानसहित १० मन्त्रालय दिन तयार भएको चर्चा छ ।
तर, ओली निकटका एक नेताले ठाकुर–महतोलाई ८ वटा मन्त्रालय दिने सहमति भएको दाबी गरेका छन् ।
माओवादी छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा तामाङको मन्त्री पद सर्वोच्च अदालतले खाइदिएपछि ती मन्त्रालयहरू रिक्त छन् । पूर्वमाओवादी नेताहरूले सम्हालेका मन्त्रालय जसपाले पाउने चर्चा छ ।
ठाकुर–महतोको मागअनुसार ओलीले विवादास्पद नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि जसपा सरकारमा सहभागी हुन लागेको जनाइएको छ ।
टीकापुर हत्याकाण्डमा सजाए पाएर डिल्लीबजार कारागारमा रहेका रेशमलाल चौधरीको मुद्धालाई पनि सर्वोच्च अदालतमा पेशी छिटो गरेर किनारा लगाउने बुझिएको छ । अदालतमा विचाराधीन विषय भएकाले रेशमलाल चौधरीका विषयमा अझै के हुने हो जसपाले मुख खोल्न चाहेको छैन ।
ओलीले राजेन्द्र महतोलाई उप–प्रधानसहित गृहमन्त्री बनाउने चर्चा जसपाभित्र छ ।
जसपाका नेताहरू राजकिशोर यादव, अनिल झा, शरदसिंह भण्डारी, चन्दा चौधरी पनि मन्त्री बन्ने चर्चा छ ।
मन्त्री बन्न लागेकी चन्दा चौधरी भारतीय चेली हुन् । चौधरी विवाह गरेर नेपालमा आएकी हुन् । केही वर्ष अगाडि चौधरी राज्य मन्त्री बनेकी थिइन् । आफू चढ्ने गाडी बिग्रिएको भनेर गाडीमा मुड्कीले हानेर विवादमा परेकी थिइन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया