रामबहादुर थापालाई धुलो चटाएको आरोप लागेका यी १४ सांसदले बुझाए स्पष्टीकरण

हेटौँडा । राष्ट्रिय सभाको उप–निर्वाचनमा रामबहादुर थापालाई हराएर धुलो चटाएको अभियोग लागेका बागमती प्रदेशका एमालेका १४ जना सांसदहरूले स्पष्टीकरण बुझाएका छन् ।

वरिष्ठ नेता माधव नेपाल समूह निकट मानिने १४ सांसदहरूलाई एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली समूहले स्पष्टीकरण सोधेको थियो । १४ सांसदले आइतबार स्पष्टीकरणको जवाफ बुझाएको सांसद अष्टलक्ष्मी शाक्यले बताएकी छिन् ।

उनीहरूलाई स्पष्टीकरण बुझाउन आइतबार साँझ ५ बजेसम्मको समय दिइएको थियो ।

स्पष्टीकरण सोधिएका १४ सांसदले जवाफ दिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

उनीहरूलाई एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले शनिबार स्पष्टीकरण सोधेको थियो ।

नेपाल समूहका प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाइँ, मुनु सिग्देल, ईन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, पार्वती सिलवाल र लक्ष्मण लम्साललाई ओली समूहले स्पष्टीकरण सोधेको थियो ।

यी सांसदहरूलाई संसदीय बोर्डले उप–निर्वाचनमा थापालाई हराउन भूमिका खेलेको अभियोग लगाएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेललाई अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको भन्दै काठमाडौंमा चैत ४ र ५ गते भएको माधव नेपाल–झलनाथ खनाल समूहको भेलामा किन गएको भनेर ओली समूहले स्पष्टीकरण मागेको थियो ।

शाक्यले चैत ४ र ५ चैत गते काठमाडौंमा भएको पार्टीको भेलामा किन गएको भनेर सोध्ने हैसियत मुख्यमन्त्री डोरमणि पौडेललाई नभएको बताएकी छिन् ।

१४ सांसदहरूले अविश्वास प्रस्तावको हस्ताक्षरबारे पौडेलले पार्टीभित्र सन्तुलन मिलाउन नसकेको, पार्टीका नेताहरूको सल्लाह र सुझावलाई अटेर गरी अघि बढेको, प्रदेशको बजेट बिनियोजनमा मुख्यमन्त्रीमुखी बनाएकोलगायतका कारण अविश्वासमा गएको जवाफ दिएका छन् ।

पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षरबारे प्रदेशसभा सचिवालयबाट फिर्ता लिइसकेको विषयमा जवाफ माग्नु उचित नभएको १४ सांसदहरूले जवाफ दिएका छन् ।

ओली समूहले राष्ट्रिय सभाको उप–निर्वाचनमा थापालाई हराएको भन्दै नेपाल समूहका १४ सांसदहरूलाई कारबाही गर्ने संकेत गरेको छ ।

Published : Sunday, 2021 May 23, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया