देउवाले झपारेपछि ओली जिल परे, कांग्रेसको शान बढाए

काठमाडौं । महन्थ ठाकुर–राजेन्द्र महतोसँग वार्ता गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर राष्ट्रिय सहमतिको प्रस्ताव गरेका छन् ।

बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न देउवा र दाहाललाई आग्रह गरेको बताए ।

‘मैले शेरबहादुर देउवा र प्रचण्डजीलाई फोन गरेको छु’, उनले भने, ‘सक्नु हुन्छ भने सरकार बनाउनुस् । सक्नु हुन्न भने मलाई समर्थन गर्नुस् । मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ ।’

ओलीले आफूलाई सहयोग गर्न भने पनि देउवा–प्रचण्डले समर्थन नगर्ने जवाफ दिएका छन् । कांग्रेसका एक नेताले ओलीले सभापति देउवासँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेपनि देउवाले स्वीकार नगरेको बताए । ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जान प्रस्ताव गरेका थिए ।

ओलीको प्रस्तावलाई देउवाले रुचाएका छैनन् । ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको असंवैधानिक कदमको देउवाले फोनमा ओलीसँग असन्तुष्टि जनाएका थिए । ओलीलाई देउवाले दिएको जवाफको भनाइ उदृत गर्दै कांग्रेसका ती नेताले भने, ‘सक्नु हुन्छ भने प्रक्रियाअनुसार सरकार बनाउनुस् । संविधान मिचेर चोरबाटोबाट किन छिर्न खोज्नु हुन्छ ।’

सभापति देउवाको जवाफ सुनेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर समर्थनका लागि प्रयास गरेका थिए । प्रचण्डले पनि ओलीलाई समर्थन गर्न नसकिने जवाफ दिएर जिल खुवाएका छन् ।

ओलीले सरकार बनाउन महन्थ ठाकुर र राजेन्द्र महतोसँग वार्ता गरिरहेका छन् । ठाकुर–महतोले ओलीलाई साथ दिने आश्वासन दिइसकेका छन् । तर, ओलीले देउवा–प्रचण्डसँग सम्वाद गरेर ठाकुर–महतोलाई धोका दिन संकेत गरेका छन् ।

ओलीले ठाकुर–महतोलाई फकाउन सबै प्रयासहरू गरिरहेका छन् । ओलीले ठाकुर–महतोलाई बिहीबार राति राष्ट्रपति कार्यालय शीतल निवासमा लगेर सरकारका लागि आफूलाई समर्थन रहेको र बहुमत पुग्ने दाबी गरेको चर्चा पनि छ ।

Published : Friday, 2021 May 21, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया