ओलीले कुनै हालतमा पद नछाड्ने आफैले गरे घोषणा, भण्डारीसँग ५ बजे दाबी गर्ने, पहिलो च्वाइस मै हो
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका हुन् । ओलीले आफूनै प्रधानमन्त्रीको बिकल्प रहेको बताएका छन् । उनले देश चुनावमा गयो भने अन्यथा लिन नहुने बताए ।
ओलीले बेलुका पाँच बजे नयाँ प्रधानमन्त्रीका लागि दाबी गर्ने बताएका छन् । उनले भने, ‘मसँग १२१ को मतभार छ । पाँच बजे मैले दाबी गर्छु ।’
ओलीले पत्रकार सम्मेलनमा पदबाट राजीनामा दिन्छन् भन्ने धेरैले अनुमान गरेका थिए । तर, ओलीले राजीनामा दिएनन् । बरु आफ्नै नेतृत्वमा सरकार बनाउन र आफैसँग ११० सांसदको समर्थन रहेको भन्दै सबै दोष नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव र माधव नेपाल समूहलाई दिएका छन् । ओली पत्रकार सम्मेलनमा निराश देखिएका थिए ।
‘मेरो पहिलो च्वाइस त म आफै बिकल्प हो । मलाई हटाउन पनि सकेनन् । अविश्वासको प्रस्ताव पनि ल्याउन सकेनन्’, उनले भने, ‘५ बजेसम्मको समय छ । कसैले बैकल्पिक सरकार दियो भने ठीक छ । होइन भने मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ ।’
‘मैले मार्ग प्रशस्त गरिदिएको छु । बैकल्पिक सरकार बनाउन राष्ट्रपतिबाट आह्वान भएको छ’, उनले भने, ‘एक दिनको समय दिँदा किन आपत्ति ? अढाइ महिना दिँदा पनि अविश्वासको प्रस्ताव पनि ल्याएनन् । ३ दिन दिएको त्यो बेला पनि हुन सकेन ।’
‘आज दिनभरि हुन सक्ला नि । बैकल्पिक सरकार बनेमा मैले स्वागत गर्नेछु । कुनै षड्यन्त्र होइन । बैकल्पिक सरकार बनाउनुस् । मेरो रचनात्मक सरकार हुनेछ’, उनले भने, ‘सधैँको खिचखिच । सरकार बनाउन सक्नु हुन्न भने मलाई समर्थन गर्नुस् । समर्थन पनि नगर्ने, सरकार बनाउन पनि नसक्ने । आउनुस् राष्ट्रिय सहमतिको सरकार बनाऔँ ।’
हाम्रै पार्टीका केही मान्छेहरू विपक्षीसँग साँठगाँठ गरेर नेतृत्व गरेर, प्रलोभन देखाएर पार्टीकै कार्यकर्तालाई उम्मेदवार बनाएर, आफ्नै पार्टीको उम्मेदवारलाई हराएर, पार्टीमा समानान्तर कमिटी बनाएर, पार्टीका सांसदलाई अनुपस्थिति गराएर सरकार ढाल्ने प्रयास भएको छ’, उनले भने, ‘संगठित कार्य गरेर सरकार ढाल्ने कुरा ठीक होइन ।’
‘अराजकता र अनुशासनहीतामा पार्टी चल्दैन । फोहोरी खेल मैदानबाट सिद्धान्तनिष्ठ, संगठित संस्थाका रुपमा निर्णय गर्नेछ’, उनले भने । ओलीले वरिष्ठ नेता माधव नेपाल समूहलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘शेरबहादुर देउवालाई फोन गरेर तर्पाइहरू सरकार बनाउनुस् भनेको छु । प्रतिपक्षमा बसेर सहयोग गर्नेछु । होइन भने राष्ट्रिय सरकार बनाउनुस् । आउनुस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ । तपाईहरूले राष्ट्रिय राजनीतिलाई विभाजन गर्ने कार्य नगर्नुस् ।’
ओलीले भने, ‘उहाँहरूले राजनीतिलाई घृणातिर लगेका छन् । कस्ता भाषा बोलेका छन् । गाली गलौज, घृणा फैलाउने काम भएको छ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने भनेर दिएको नेताहरूको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले राष्ट्रपति भण्डारीलाई आलोचना नगर्न सचेत गराएका छन् ।
‘राष्ट्रपतिलाई महाअभियोग लगाउने रे ! यो आक्रोश, कुण्ठा के हो’, उनले भने, ‘प्रधानमन्त्रीमाथि अविश्साको प्रस्ताव ल्याउ । प्रधानमन्त्रीले सिफारिस गरेको कुरा । राष्ट्रपतिमाथिको आक्रोश किन ?’
‘राष्ट्रपतिको विरोध गणतन्त्रको विरोध हो । राष्ट्रपतिको हुर्मत लिने काम, मर्यादा घटाउने काम भयो’, ओलीले चित्त दुखाएर भनेका छन् ।
ओलीले शपथको विषयलाई लिएर गरिएको विवादमा पनि असन्तुष्टि जनाएका छन् । उनले शपथको विषयमा विरोध गर्नेहरूलाई लोकतन्त्र विरोधीको आरोप लगाएका छन् । ‘उहाँहरूले भए जस्तो भएन भने प्रतिगमन देख्नु हुन्छ । शपथमा प्रतिगमन भयो भने’, ओलीले भने, ‘लोकतन्त्र समाप्त पार्न खोज्नेहरू, आधा मनले लोकतन्त्र स्वीकार गरेकाहरूले प्रतिगमन भयो भन्छन् ।’
‘५ मा जान राजीनामा गर्नै पर्छ भन्ने कुरा कहाँ लेखेको छ ? विश्वासको मत लिए सरर मैले छोडिदिए । मैले मत पाइन छाडिदिए’, ओलीले भने, ‘राजीनामा दिए पनि ५ मा पुग्ने हो । मार्ग प्रसस्त गर्दा पनि ५ मा जाने हो । यसमा मैले सहयोग गरेको हुँ । राजीनामा गरेर जानुपर्छ भन्ने कतै उल्लेख छै ।’
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (५) मा जाँदा कृतिम र नाटकीय व्याख्या गरेको भन्दै आक्रोश पोखेका छन् ।
‘कृतिम, नाटकीय ब्याख्याहरू गरेको पाइयो । मानौँ नयाँ कुरो अचानक आइपुग्यो भने जसरी । फेरि जाने संविधानको धारा ७६ (५) मै हो । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्छ । त्योभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्छ’, ओलीले भनेका छन् ।
‘हामीसँग समय धेरै छैन । हामीसँग समय छैन । विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर विश्वासको मत लिन नसकेर फेरि ५ मा जाने समय छैन । सुविधा छैन’, उनले भने, ‘प्रधानमन्त्रीले मार्ग प्रसस्त गरिदिनु र समस्यको चापले अत्यावसेक भइसक्यो । अर्को बैकल्पिक सरकार बनाउनका लागि आह्वान गरिएको छ । छलेर सरकार कब्जा गर्न खोजिएको छैन ।’
‘नेपाली कांग्रेस, माओवादी, उपेन्द्र यादव र माधव नेपाल समूह मिल्दा कति छ संख्या ? मलाई लखेटेको लखेटै गर्ने । बहुमत दुध उम्लिए जस्तो उम्लिएर बहुमत आउँछ’, उनले भने, ‘११० ले सरकार बन्छ ? त्यसको अर्थ छैन । मसँग १४० छ । किन एक ठाउँमा बस्न नसकेको ? कहिल उत्तर, कहिले दक्षिण कुदेको कुदै । अहिले आएर रन बनाउन लाग्ने ?’
ओलीले भने, ‘आकाश खस्ने कुरा होइन देश चुनावमा जान सक्छ । निष्पक्ष चुनाव गराउनुपर्छ । चुनाव यो मसिरमा नभए पनि अर्को मंसिरमा गर्नुपर्छ । आउने फागुनमा स्थानीय तहको निर्वाचन गर्नै पर्छ ।’
‘विश्वासको मत लिन नदिन पार्टीभित्रै २७ जना अनुपस्थित भए । फुटाउन कार्य भयो । सरकार ढाल्न र विश्वासको मत प्राप्त नहोस भनेर अपराधी क्रियाकलाप भए’, ओलीले आरोप लगाए ।
‘सरकार ढाल्न पनि नसक्ने, अर्को सरकार पनि नबनाउने । तटस्थ बसाल्ने । लोकतन्त्रको हुर्मत लिने काम भयो’, ओलीले भने, ‘माधव नेपालले जनताको अभिमतलाई तोड्नु भएको छ । अस्थिरताको खेती गर्ने ?’ ओलीले माधव नेपाललाई कारबाही गर्ने बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया