शीतल निवासमा मध्यराति भीभीआईपी र भीआईपीहरू छिरे, दुई बिकल्पमा कुराकानी
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नयाँ सरकारका विषयमा परामर्श गरेका छन् ।
ओलीले ठाकुर र महतोलाई बिहीबार मध्यराति राष्ट्रपति भण्डारीसँग भेट गराउन शीतल निवास लगेको उच्च स्रोतले जनाएको छ । ओली, ठाकुर–महतो करीव सवा ११ बजे शीतल निवास छिरेको स्रोतको भनाइ छ ।
संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेको केही घण्टाभित्रै ओली जसपाका नेताद्वय ठाकुर र महतोलाई राष्ट्रपति निवासमा लगेर गएका हुन् ।
राष्ट्रपति भण्डारीले बिहीबार साँझ विज्ञप्ति जारी गरेर संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकारको नेतृत्वका लागि दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।
स्रोतको दाबीअनुसार एमाले र जसपाको ठाकुर–महतो समूह मिलेर बहुमतको सरकार बनाउने तयारी गरेका छन् । त्यसका लागि ठाकुर–महतोले १९ जना सांसदहरूको हस्ताक्षर ओली र भण्डारीलाई शीतल निवासमा बुझाएको चर्चा छ ।
एमालेसँग प्रतिनिधि सभामा १२१ सांसद छन् । जसपाको ठाकुर–महतो समूहसँग १९ सांसद रहेको दाबी गरिएको छ । दुबै दलका सांसदको संख्या १४० हुन्छ ।
एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले राजीनामा दियो भने ओलीले सरकार बनाउन सक्ने छैनन् । ओलीले प्रतिनिधि सभा भङ्ग गरेर निर्वाचनको मिति तोक्ने सम्भावना छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको संख्या जोड्दा पनि बहुमतको सरकार बनाउन संख्या पुग्दैन । यस्तो अवस्थामा ओलीले चौथो पटक शुक्रबार प्रधानमन्त्रीको शपथ लिने सम्भावना छ ।
एमाले र ठाकुर–महतो समूहको बहुमत पुग्यो भने ओलीको सरकार बाँकी १८ महिना चल्न पाउनेछ ।
माधव नेपाल समूहको सामूहिक राजीनामा र उपेन्द्र यादवले विद्रोह गरेका आफ्ना सांसदहरूलाई कारबारी गरेको वा समर्थन नरहेको विषयमा शुक्रबार पूर्व जानकारी रोक्नका लागि ओली, भण्डारी, ठाकुर र महतोले गडबडी गरेको आशंका विपक्षी दलहरूको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया