कांग्रेसका शीर्ष नेताहरूलाई देखेपछि झस्किए ओली, जनताका यी मागहरू पूरा गर्न दवाव
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर कोरोना महामारीका बेला संवेदनशील बनेर जनताको उपचारमा क्रियाशील बन्न सचेत गराएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर ओलीलाई ज्ञापन पत्र बुझाउँदै कोरोनाबाट समस्यामा परेका विपन्न परिवार र समुदायलाई आर्थिक राहत कार्यक्रम ल्याउन दवाव दिएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।
देउवाले जनता कोरोनाले आक्रान्त बनेको भन्दै कोरोनाका संक्रमितको उपचार, खोप ल्याएर लगाउनुपर्ने, बालबालिकालाई पनि खोप दिनुपर्ने लगायतका माग राखेका छन् । उनले अस्पतालहरूमा स्वास्थ्य सामग्री र औषधिहरूको व्यवस्था गरेर कोरोनाको तेस्रो लहरबाट जनतालाई रक्षा गर्न ओलीसँग आग्रह गरेको डा.महतले बताए ।
कांग्रेसका सभापति देउवासहितका शीर्ष नेताहरूलाई आफ्नो कार्यकक्षमा देखेपछि ओली झस्किएको एक नेताले जनाए । देउवाले ओलीलाई ठाडै जनता मर्दा पनि किन गम्भीर नबनेको भनेर सातो लिएका थिए ।
देउवाले सीमा नाकाहरूमा समयमा नै समुचित व्यवस्थापन गर्नेतर्फ सरकार गम्भीर नहुँदा यो भयावह अवस्था सिर्जना भएको जनाएका छन् ।
संक्रमण दर र मृत्यु दर उच्च गतिमा बढेको भन्दै देउवाले जेठ ५ गतेसम्म ५ हजार ६५७ जनाको दुःखद् मृत्यु भएको ज्ञापन पत्रमा जनाएका छन् । कोरोनाभाइरसको अझ बढि घातक नयाँ–नयाँ भेरियन्ट देखा परिरहेको कांग्रेसले जनाएको छ ।

सभापति देउवाले अहिले कोरोनाको संक्रमण समुदायस्तरमा र छोटो समयमा देशको दुर्गम गाउँहरूमा समेत फैलिएको जनाएका छन् । उनले संक्रमितहरूको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको समेत बताएका छन् ।
बिरामीको चापसँगै विशेष गरेर अक्सिजन र आईसियु बेडको टड्कारो अभाव देखिएको कांग्रेसले ओलीको ध्यानाकर्षण गराएको छ । सीमा नाकाहरूमा यथेष्ट परीक्षणको अभाव, होल्डिङ सेन्टर र क्वारेन्टाइन केन्द्रहरूको समुचित व्यवस्था नहुँदा देशभित्र द्रुत गतिमा कोरोना प्रदेश गरेको कांग्रेसले जनाएको छ ।
सरकारको नेतृत्वपंक्तिको अगुवाईमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटनका कार्यक्रमहरूले संक्रमण द्रुत गतिमा बढ्न मद्दत गरेको आरोप कांग्रेसले ओलीलाई लगाएको छ ।
कांग्रेसले ग्रामीण क्षेत्रका जनता स्वास्थ्य सेवाबाट बञ्चित रहेको भन्दै उनीहरूलाई निःशुल्क ढुवानी, एम्बुलेन्स, अस्पताल, हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेसले भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल जनतालाई खोपको सुनिश्चितता गर्न माग गरेको छ ।
कांग्रेसले भनेको छ, ‘पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिशनतन्त्रको सम्बन्धित निकायहरूबाट स्वतन्त्र रुपमा छानविन गर्न माग गरेको छ ।

कांग्रेसले अक्सिजन प्लान्ट, बेड, आईसीयुलगायतका उपचारको व्यवस्था विस्तार गर्न माग गरेको छ । पीसीआर परीक्षण धेरै गर्ने र कन्ट्याक ट्रेसिङ गर्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ । निजी अस्पतालहरूले उपचारमा धेरै शुल्क लिएको भन्दै कांग्रेसले निजी कम्पनीका हेलिकप्टरहरूको भाडा पनि महँगो भएको जनाएको छ ।
कांग्रेस सभापति देउवाले अक्सिजन लगायतका औषधिहरूको आपूर्तिमा देखिएको कार्टेलिङ, कालोबजारी र जम्माखोरीलाई तत्काल रोकेर कारबाहीको माग गरेका छन् ।
सभापति देउवाले भने, ‘कोरोना रोकथाम र उपचारका साथै कोरोना प्रभावित निम्न आय भएका आम नागरिक, श्रमिक वर्ग र श्रमिजीवी पत्रकार, साना र मध्यमस्तरका व्यवासयीहरूको जीवन निर्वाहको आवश्यक्तालाई लक्षित गरि आर्थिक राहत प्याजेको व्यवस्था गर्नुपर्छ ।’
उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखेर पुर्नकर्जा सुविधा र व्याजमा सहुलियत दिने व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउन सभापति देउवासहित महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सह–महामन्त्री एवम् कोभिड–१९ अनुमगन समितिका संयोजक डा.प्रकाशशरण महत, रामशरण महतलगायतका नेताहरू सिंहदरबार गएका थिए ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया