ओलीको धम्कीले माधव समूहको एउटा कपाल पनि हल्लिएन, हेटौँडामा पावर देखाइदिने
काठमाडौं । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टीभित्र देखिएको समस्या समाधान गर्न कार्यदल बनेर काम शुरु गरेको भन्दै अनुशासन विपरितको कार्य नगर्न सचेत गराएका छन् ।
ओलीले बुधबार विज्ञप्ति जारी गरेर वरिष्ठ नेता माधव नेपाल समूहतिर संकेत गर्दै चेतावनी शैलीमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई निर्वाचिन गराउन दवाव दिएका हुन् । नेता नेपालले रामबहादुर थापालाई सहयोग गर्न नसकिने जनाइसकेका छन् ।
‘अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको छ’, उनले भने ।
‘यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कत्र्तव्य हो’, उनले भने, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो ।’
ओलीले भने, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।’
‘यस निर्वाचनमा हाम्रो एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइँमा पु¥याउनेछ’, ओलीले भनेका छन् ।
‘हामी सबै जनप्रतिनिधिहरू पार्टीका तर्फबाट उम्मेदवार बनेका हौं’, ओलीले चेतावनी शैलीमा भनेका छन्, ‘पार्टीका सयौं कार्यकर्ताहरू र हजारौं मतदाताहरूको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौं ।’
‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टीे हित विपरित काम नगर्ने सपथ लिई आएका छौं’, ओलीले भनेका छन् ।
‘आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने विन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन’, उनले भने, ‘प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेदवार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाहरूप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो ।’
‘अग्रजहरूले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम् विश्वासका जगमा यस विन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरूबाट कमजोर पार्ने प्रयाशहरू पनि हुँदै आएका छन्’, वरिष्ठ नेता माधव नेपाल समूहलाई चेतावनी दिँदै ओलीले भनेका छन्, ‘ती सबै प्रयाशलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको छ ।’
बिहीबार बाग्मती प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । एमालेले रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । थापा गृह मन्त्री बन्नका लागि माओवादी केन्द्र छाडेर ओलीलाई साथ दिएका थिए । माओवादीले कारबाही गरेपछि थापाको सांसद पद गएको थियो । थापाकै कारण राज्यलाई करीव साढे १ करोड नोक्सान हुँदैछ ।
माओवादी केन्द्र, माधव नेपाल समूह र नेपाली कांग्रेसले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । देवकोटा बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएपछि तनाबमा परेका ओली र थापाले माधव नेपाल समूहलाई धम्काउने प्रयास गरेको छ ।
ओलीले धम्की दिएर विज्ञप्ति जारी भए पनि वरिष्ठ नेता नेपालले बुधबार पौने पाँच बजेसम्म त्यसको कुनै प्रतिक्रिया दिएका छैनन् । नेपाल समूहका नेताहरूले ओलीको धम्कीले एउटा कपाल पनि नहल्लिएको टिप्पणी गरेका छन् । नेपाल समूहले बिहीबार हेटौडामा हुने उप–निर्वाचनमा थापालाई हराइ छाड्ने तयारी गरेको एक नेताले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया