कोरोनाका बेला सरकारको तयारी र व्यवस्थापन राम्रो हुन सकेन, जनताले दुःख पाएः विपुल पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण समस्यामा परेकाहरूका लागि राहतको कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

पोखरेलले शनिबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘बिहान बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका नागरिकको पीडामा सहयोग गर्ने कोही भेटिएका छैनन्, राज्यले पनि निषेधाज्ञाबाहेक जनजीवनलाई सहयोग गर्ने कुनै पनि राहतका कार्यक्रम ल्याउन सकेको छैन ।’

उनले आधारभूत स्वास्थ्य सेवामाथिको निःशुल्क पहुँच संविधानले गरेको व्यवस्था रहेको स्मरण गराएका छन् । उनले भने, ‘संक्रमण फैलाउने रोगको निःशुल्क उपचारको प्रावधान कानूुनहरूमा व्यवस्था गरिएको छ । संविधान र कानूनभन्दा ठूलो मानवीय दायित्व त छदै छ ।’
पोखरेलले अस्पतालमा बेड, अक्सिन र आवश्यक औषधिको अभाव देखिएको समेत बताएका छन् ।

‘अक्सिजन आपूर्तिमा १५ मिनेटमात्र समस्या हुँदा एउटै अस्पतालका ४ जनाको एउटै समयमा मृत्यु हुन पुगेको कहालिलाग्दो अवस्था हामीले भोगिरहेका छौँ’, उनले भने, ‘बिरामी बोक्ने एम्बुलेन्स, हेलिकप्टरले जथाभावी भाडावापतको रकम असुली रहेको समाचार आइरहेका छन् ।’
उनले भने, ‘स्वास्थ्यसँग सम्बन्धित सामग्रीको कालाबजारी, त्यस्ता सामग्री खरिदमा कमिसनका खबर पनि सार्वजनिक भैरहेका छन् । यस्तो महामारीका बेलामा देखिएका यी बेथिति र बद्नियत खेदजनक छन् ।’

‘यस्ता बेथिति र बद्नियतका घटनाको प्रत्यक्ष साक्षीमात्र बनेर र टुलुटुलु हेरेर नेपाली पत्रकारिता क्षेत्र बस्न सक्दैन । पत्रकारिता क्षेत्रले यस्ता प्रवृत्तिलाई निरन्तर उजागर गर्दै राज्यलाई गम्भीर र संवेदनशील बनाउन हरसम्भव प्रयास गरिरहेकै छ, यो कार्य स्तुत्य पनि छ’, पोखरेलले भनेका छन् ।

‘यस्तो संवेदनशील घडीमा स्वास्थ्य संयन्त्रले थेग्न नसक्ने अवस्था आयो भनेर राज्य पन्छिन पाउँदैन । त्यसका लागि नेपाली पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गरिरहने छ । राज्यले अभिभाकत्व प्रदान गर्नुपर्ने संवेदनशील क्षणमा अरुलाई दोषारोपण गरेर उन्मुक्ति पाइदैन’, उनले भने ।

‘हालको जस्तो विशेष संवेदनशील अवस्थामा पनि पत्रकारिताको विशेष भूमिकाको अपेक्षा हाम्रो आचारसंहितालेसमेत गरेको छ’, उनले भने, ‘यो कुरालाई मध्यनजर गर्दै मानव जीवनको रक्षाका लागि पत्रकारिताका माध्यमबाट योगदान पुराउनेतर्फ हामी अझ सशक्त भएर अगाडि बढौं भन्ने आह्वान गर्दछु् ।’

‘यतिबेला नागरिकलाई सही सूचना दिएर कोरोनाबाट जोगिन, आत्मबल बढाउन उत्प्रेरित गर्नुपर्ने छ भने अर्कोतर्फ वेथिति र बद्नियतको उजागर गरेर राज्यलाई जिम्मेवार बनाउनु पर्ने दायित्वसमेत निर्वाह गर्नु परेको छ’, उनले भनेका छन् ।

‘स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षाको अभावमा पत्रकारहरुले सूचना प्रवाह गर्न पनि समस्या उत्पादन हुने छ । त्यस्तो अवस्थामा उत्पन हुनसक्ने ‘सूचना संकट’को अवस्थाप्रति पनि राज्यलगायत सरोकारवाला निकायहरु गम्भीर बन्न जरुरी छ’, अध्यक्ष पोखरेलले भनेका छन् ।

‘संक्रमणबाट मृत्यु भएकाहरु र संक्रमितहरुको तथ्याङ्क देखाएरमात्र राज्यले आफ्नो दायित्व निर्वाह गरेको ठानिदैन’, उनले भने, ‘अस्पतालको भूइँमासमेत छट्पटाइरहेका, अस्पताल नपाएर याकुल–व्याकुल भइरहेका नागरिकको अनुहार हेरेर अल्पकालीन र दीर्घकालीन योजना निर्माण र कार्यान्वयनका लागि राज्यका संरचनाहरूको ध्यानाकर्षण गराउन चाहान्छु ।’

Published : Saturday, 2021 May 15, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया