कांग्रेस नेता बस्नेतद्वारा ओलीको सांसद खरिद बिक्री काण्डको भण्डाफोर, भण्डारीलाई पनि छाडेनन्
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्ट सरकारको असावधानी र लापरबाहीले मुलुकमा दोस्रो चरणको कोरोना महामारीको अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।
खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले कमिशनको चक्करमा नलागेर समयमा कोरोनाविरुद्धको खोप ल्याएर जनतालाई लगाइदिएको भए भयावह अवस्था सिर्जना नहुने बताए ।
‘कोरोनाको खोप छिमेकी मुलुकहरू भारत–चीनले दिएका थिए । दोस्रो चरणमा खोप खरिदमा कमिशनमा लागेर समयमा खोप आउन पाएन’, उनले भने, ‘महामारीका बेला पनि बालुवाटारमा सुतेर बसेकाहरू कमिशनमा लागे । कोरोना फैलिएको जिम्मेवारी सरकारमा बसेकाहरूले लिनुपर्छ । उपचार नपाएर मान्छे मरेका छन् । त्यसको जिम्मेवारी बालुवाटार हुनुपर्छ ।’
कांग्रेस नेता बस्नेतले भने, ‘सरकारले पहिलो चरणको कोभिड–१९ को संक्रमणलाई विशेष स्वास्थ्य नीति बनाएर सावधानी अपनाएको भए दोस्रो चरणको संक्रमण भयाबह हुने थिएन ।’
कोरोना महामारीका बेला जनताको स्वास्थ्य सुरक्षा र उपचारमा ध्यान दिन नसक्ने ओली सरकारलाई किन जताले कर तिर्ने ? भनेर प्रश्न उठेको बस्नेतले बताएका छन् ।
‘जनताको ज्यानभन्दा कर उठाउने कुरा महत्वपूर्ण हो भन्ने सरकारका प्रवक्ताको भनाइ पागलनपन हो’, उनले भनेका छन् ।
प्रधानमन्त्री ओली भ्रष्टाचारमा डुबेको आरोप कांग्रेस नेता बस्नेतले लगाएका छन् । ‘प्रधानमन्त्री ओलीजीको इसाराविना वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड भएको होइन ।’
नेता बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश प्रमुखहरूलाई एमालेको ओली गुटको प्रवक्ता नबन्न चेतावनी दिएका छन् ।
‘प्रदेश प्रमुखहरू र राष्ट्रपति विद्यादेवी भण्डारीजी केपी ओली गुटको कार्यकर्ता मात्र होइन, संविधान विरोधी क्रियाकपालका मतियार पनि हुनुभएको छ ।’
उनले ओलीलाई सांसद खरिद बिक्री गरेर सत्ता टिकाउने खेलमा लागेको भन्दै कम्युनिस्टहरू जनताको जीवन कोरोनाबाट बचाउनेभन्दा पनि कसरी सत्तामा टिकिरहने भनेर लागेको बताए ।
‘प्रधानमन्त्री केपी ओलीजी सरकार टिकाउन सांसद अपहरण र किनबेचमा सक्रिय देखिनु भएको छ’, बस्नेतले भने, ‘संसदीय व्यवस्थाको अपमान मात्र होइन, संघीयताको खिल्ली उडाउनु भएको छ ।’
‘हिजोका दिनमा प्रधानमन्त्री केपी ओलीजीले प्रतिनिधि सभा भंग गरेपछि प्रतिगमन भयो भनेर आन्दोलन गर्नेहरू केपी ओलीजीकै सरकार टिकाउन मत हालौँ भन्ने उहाँहरूलाई के भन्ने ?’, जसपाप्रति प्रश्न गर्दै नेता बस्नेतले भनेका छन् ।
कांग्रेस नेता बस्नेतले भने, ‘नेपालको लकडाउन केपी ओलीजीको सत्ता लम्बाउने खेल मात्र भएको छ ।’ ओलीले सरकार टिकाउने अवैधानिक गतिविधिहरूभन्दा अरु कुनै काम नगरेको आरोप बस्नेतको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया