नेपाल समूहको निर्णयले बालुवाटारमा भूकम्प, आइतबार काम फत्ते गर्ने
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरूले आइतबार सामूहिक राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिँदै छन् । नेपाल–खनाल समूहलाई ओलीले मनाउने प्रयास गरेका थिए । ओली आफ्नो अडानबाट टसमस नभएपछि नेपाल–खनाल समूहले सामूहिक राजीनामा दिन लागेको स्रोतले जनाएको छ ।
नेपाल–खनाल समूहका नेता र सांसदहरूको शनिबार काठमाडौंमा बसेको बैठकले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली एकलौटी रुपमा जान खोजेको निष्कर्ष निकालेको छ ।
नेपाल–खनाल समूहले सहमतिका लागि ओलीसँग पटक–पटक प्रयास गर्दा पनि सहमति हुन नसकेको जनाएको छ । नेपाल–खनाल समूहले ओलीलाई सहि ठाउँमा ल्याउन राजीनामा दिने निर्णय गरेको एक नेताले बताएका छन् ।
नेपाली कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ ।
नेपाल समूहका प्रतिनिधि सभाका २० सांसदले राजीनामा दिए भने ओलीको सरकार ढल्नेछ ।
प्रतिनिधि सभामा नेपाल समूहका ३५ जना सांसद छन् । आइतबार प्रत्यक्ष निर्वाचित सांसदहरूले मात्रै राजीनामा दिने भनिएको छ । तर, समानुपातिक सांसदहरूले पनि राजीनामा दिन चाहेको एक नेताले बताए ।
ओलीलाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको गुटले साथ दिने भनेको छ । ठाकुरले साथ दिए पनि नेपाल समूहको राजीनामा आयो भने ओलीको सरकार बच्ने छैन ।
ओली सरकार ढले पनि बहुमतको सरकार बनाउने बिकल्प भने रहनेछ । वैशाख २७ गते विश्वासको मत पाउन सकिएन भने ओलीले शक्तिको दुरुपयोग गरेर आफै प्रधानमन्त्री बन्ने सम्भावना पनि निकै छ ।
लुम्बिनी प्रदेशमा एमालेका नेता शंकर पोखरेलले मुख्यमन्त्री बन्न अपनाएको रणनीति ओलीले पनि अपनाउन सक्ने सम्भावना रहेको चर्चा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया