ओली सरकार असफल भयो, आउनुस् मिलेर कोरोना परास्त गरौँः कांग्रेस नेता थकाली
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले ओली सरकार कोरोना राकथाम र उपचारमा असफल भएको भन्दै जनताको जीवन रक्षाका लागि मिलेर काम गर्न अपील गरेका छन् ।
कांग्रेस नेता थकालीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर सरकार कोरोना रोकथाम र उपचारका लागि पूर्णरुपमा असफल भएको बताए । उनले असफल भइसकेको सरकारको आलोचना गर्नेभन्दा पनि मिलेर कोरोना रोकथाम र उपचारमा का मगर्न अनुरोध गरेका छन् ।
‘हे मेरो सरकार ! राज्यको सम्पूर्ण श्रोत र शक्ति भेन्टिलेटर, भ्याक्सिन, अक्सिजन र औषधि बन्दोवस्ती गर्नेतर्फ लाग्नोस’, पूर्वमन्त्री थकालीले भनेका छन्, ‘यो बेला जनता बचाउनेतर्फ लागौँ ।’
उनले भने, ‘सरकार, हामी प्रतिपक्ष दल, सम्पूर्ण नेपाली एक भएर कोरोनाविरुद्ध लडौँ ।’
‘सरकारले कमजोरी देखाएकै हो, अब त्यसो भनेर आलोचना गरेर मात्रै समय खेर फाल्ने अवस्था रहेन’, थकालीले भने, ‘सत्ताको लुछाझिम्टी केही समयलाई भए पनि त्यागौँ । जनता नरहे, विकास, सम्वृद्धि र राजनीति के का लागि ?’
कांग्रेस नेता थकालीले मुलुक कोरोनाभाइरसको महामारीको चपेटमा नराम्रोसँग प्रवेश गरेको भन्दै चिन्ता जनाएका छन् ।
‘काठमाडौंमा बिरामीहरूलाई अस्पतालमा भेन्टिलेटर, बेड पाउन प्रायः असम्भव जस्तै भइसकेको छ’, पूर्वमन्त्री थकालीले भनेका छन् ।
‘जनताको सेवकको नाताले धेरै बिरामीहरूका सहयोगीहरूले हस्पिटल मिलाई दिन सहयोग माग्छन्’, उनले भने, ‘प्रायः असफल हुनुपर्दा दिक्दार लाग्छ ।’
उनले भने, ‘यो महामारी आउँदा सरकारले पर्याप्त ध्यान नदिएकै कारण देशवाशीले दूरदशा भोग्नु परिरहेकै छ ।’
प्रधानमन्त्री खड्गप्रसाद ओली सरकार बचाउन र आफ्नै पार्टी एमालेभित्रको विवादले तनावमा छन् । उनले प्रधानमन्त्री पद कसरी बचाउनेभन्दा अर्को कुरा सोँच्न सकेका छैनन् ।
जनताले उपचारका लागि अस्पतालमा बेड र अक्सिजन नपाउँदा मर्नुपर्ने बाध्यता छ । सरकारको बेथिति र कोरोना संक्रमित बिरामीहरूको बेहाल देखेपछि कांग्रेस नेता थकालीले बाध्य भएर कम्युनिस्टसँग हरेस खाएर सबै मिलेर कोरोना रोकथाम र नियन्त्रणमा लागौँ भनेर अपील गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया