अक्सिजन दिन नसक्ने शंकरजी कुर्सी बचाउन बुटवलमै लडीबुडी गर्नुस्, हिसाब दाङले राखेको छः राजु खनाल
काठमाडौं । नेपाली कांग्रेस संगठन विभागका लुम्बिनी प्रदेश संयोजक एवम् पूर्वसांसद राजु खनालले लुम्बिनी प्रदेशमा सत्ता र शक्तिका आडमा सरकार बनाएको भन्दै एमाले नेता शंकर पोखरेलविरुद्ध आक्रोश पोखेका छन् ।
कांग्रेस नेता खनालले सामाजिक सञ्जालमार्फत शंकर पोखरेल र उनको दल एमालेले सत्ताको दुरुपयोग गरेर लुम्बिनी प्रदेशमा सरकार गठन गरेको बताए । विपक्षी दलहरूले बहुमत देखाउँदा देखाउँदै प्रहरी प्रशासनको आडमा पोखरेलले मुख्यमन्त्री पदको सपथ लिएको खनालले आरोप लगाए ।
विपक्षी दलहरूले दर्ता गराएको अविश्वासको प्रस्ताव छलेर मुख्यमन्त्री बनेको भन्दै खनालले कम्युनिस्टहरू विधि, लोकतन्त्र र संविधानमा विश्वास गर्दैनन् भन्ने सन्देश लुम्बिनीमा दिएको बताए ।
‘कम्युनिस्टहरू लोकतन्त्रमा विश्वास गर्दैनन् । संविधानलाई कहिल्यै मान्दैनन् । पद र शक्तिका लागि हदैसम्म तल गिरेर हर्कत गर्छन् भन्ने सन्देश लुम्बिनीमा एमाले र शंकर पोखरेलजीहरूले देखाउनुभएको छ’, कांग्रेसका युवा नेता खनालले भनेका छन् ।
‘सत्ता र शक्तिको भोट छ भने शंकर पोखरेलजीलाई लोकतान्त्रिक प्रक्रियाबाट मुख्यमन्त्री बन्न हामी पनि सहयोग गर्न तयार छौँ’, खनालले भने, ‘प्रहरी प्रशासनको आडमा सत्ता कब्जा गर्ने कम्युनिस्ट अधिनायकवाद कांग्रेसलाई स्वीकार छैन ।’
एमालेले लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्न शुरु गरेदेखिनै अराजकता, अस्थिरता, भ्रष्टाचार, कुशासन भइरहेको कांग्रेस नेता खनालले बताए ।
कोरोना महामारीका बेला लम्बिनी प्रदेशका जनता सबैभन्दा धेरै संकटमा रहेको खनालले बताए । दाङमा कोरोना संक्रमित बिरामीहरूले अक्सिजन नपाएर मर्नु परेको बताएका कांग्रेस नेता खनालले आफ्नै गृहजिल्लाका कोरोना बिरामीको उपचारमा ध्यान दिन नसक्ने एमाले र शंकर पोखरेलहरूलाई सत्तामा बस्ने अधिकार नरहेको बताए ।
मुख्यमन्त्री पोखरेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफैले उद्घाटन गरेका कार्यक्रमहरू पनि अलपत्र परेको भन्दै कांग्रेस नेता खनालले भने, ‘शंकर पोखरेलजी सत्ताका लागि बुटवलमा लडीबुडी गर्नुस् । दाङका जनता कोरोना महामारीमा उचित उपचार र अक्सिजन नपाएर मर्नु परेको छ । शंकरजी तपाईहरूको हामीले एकएक हिसाब राखेकौ छौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया