कोरोना संक्रमितलाई बेड दिन नसक्नेभन्दै ओली सरकारले हात उठायो

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाभाइरसका संक्रमितहरूको संख्या बढेको भन्दै अपस्तालमा राखेर हेरचाह गर्न नसकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरेर अस्पतालमा राखेर हेरचाह गर्न र अस्पतालको शैय्या उपलब्ध गराउन नसकिने भएको जनाएका हुन् ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’, डा.अधिकारीद्वारा जारी अपीलमा भनिएको छ, ‘सबै दाजुभाई दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।’

उनले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने, भौतिकदुरी कायम गर्ने, बेलाबेला साबुनपानीले हात धुन अनुरोध गरेका छन् ।

डा.अधिकारीले भनेका छन्, ‘जनस्वास्थ्यका मापदण्डहरूको सम्वेदनशील भाई कडा रुपमा पालना गर्नु गराउनुपर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन अपील छ ।’

‘कोरोना संक्रमणको हिवाबले नेपालका अति प्रभावित जिल्लाहरू मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरि बढीरहेको छ’, सह–प्रवक्ता डा.अधिकारीद्वारा जारी अपीलमा भनिएको छ ।

चेतावनी शैलीमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अधिकारीको अपील जारी भएको छ । तर, सरकारले कर कार्यालय, मालपोत कार्यालय, पानी, बिजुलीको महशुललगायतका कर उठाउने कार्यालयहरू भने खुला राखेको छ । ती कार्यालयमा भिडभडाका हुँदा जोखिम रहन्छ भन्ने कुरा कसले सिकाइदिने हो ?

जनतासँग कर उठाउने सरकारले शैय्या उपलब्ध गराएर संक्रमितको उपचार गराउन नसक्ने भनेर हात उठाएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भएको छ ।

Published : Friday, 2021 April 30, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया