कोरोना बढेपछि थप पाँच जिल्लामा निषेधाज्ञा लागू

काठमाडौं । सरकारले दिएको अधिकार प्रयोग गरेर थप ५ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् ।

कोरोना महामारीको जोखिम बढेपछि शनिबारदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय जाजरकोट, रुकुम पश्चिम र डडेल्धुरामा निषेधाज्ञा शुरु हुनेछ ।

झापाले आइतबारदेखि लागू हुने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मार्मा र व्यास गाउँपालिकाका केही स्थान, शैल्यशिखर नगरपालिकाका वडा नं १, २, ३, ५, ६ र ९ का क्रमश बलाँच, डेथला, कर्कले, महाकाली राजमार्ग र गोकुलेश्वर बजार क्षेत्रका साथै वडा नं ९ कै कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि रहनेछ ।

जाजरकोटमा शनिबार १८ देखि २५ गतेसम्म, रुकुम पश्चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

झापा जिल्लामा सवारी साधन जोरबिजोर प्रणालीअनुसार चलाउन पाइनेछ ।

काठमाडौं उपत्यकासहित कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यानमा निषेधाज्ञा जारी छ ।

सुनसरीमा जिल्लाभर र बागलुङ, कालीकोट, बर्दियाका केही क्षेत्रमा निषेधाज्ञा जारी छ ।

तराई र काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमित ५ सय नाघेमा निषेधाज्ञा लगाउने अनुमति दिइएको थियो ।

हिमाली र पहाडी जिल्लामा २ सय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको थियो ।

Published : Friday, 2021 April 30, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया