एमालेको गण्डकी काण्डमा बोल्यो कांग्रेस, कम्युनिस्टको सातोपुत्लो उड्यो

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले गण्डकी प्रदेशमा एमालेको सरकारले प्रदेश सभामा गरेको कार्यलाई बद्नियतपूर्ण भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभापति केसीले बिहीबार विज्ञप्ति जारी गरेर सत्ताको चरम दुरुपयोग गरेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गरेको जनाएका छन् ।

‘वैशाख १५ गते गण्डकी प्रदेश सभामा सरकारविरुद्धको अविश्वासको प्रस्तावमा कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचीअन्तर्गत मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराइएको घटनाप्रति नेपाली कांग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सांसदलाई वदनियतपूर्वक अनुपस्थित गराईएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको हाम्रो ठहर छ’, सभापति केसीले भनेका छन् ।

‘अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि हठातमा संसद अधिवेशन अन्त्य गर्ने, छलफल शुरु भएपछि पीसीआर परीक्षणका नाममा संसद अवरुद्ध पार्ने जस्ता संसदीय अभ्यास विपरितका क्रियाकलापहरूमा सरकार शुरुदेखिनै संलग्न रहेको प्रष्ट देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘विश्वासको मत लिन नसक्ने अवस्था आएपछि सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग गर्नु र स्थानीय प्रशासन समेत त्यसमा संलग्न रहनु निन्दनीय कार्य हो’, कांग्रेस सभापति केसीले भनेका छन् ।

‘एकै समयमा सांसद शाहीको पीसआर परीक्षणको रिपोर्ट फरक–फरक आउनु आफैमा रहस्यमय र स्वास्थ्य संस्थाको विश्वसनीयतामा समेत प्रश्न उठने गरी क्रियाकलाप हुनु दुःखद् विषय हो’, केसी भनेका छन् ।

‘अज्ञात अवस्थामा रहनु भएका गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीको अवस्था तत्काल सार्वजनिक गर्न समेत माग गर्दछौ’, कांग्रेसले भनेको छ, ‘संघीयतालाई कमजोर बनाउने गरी गरिएको प्रदेश सरकारको यस प्रकारको जसरी पनि सत्तामा टिकिरहने सर्वसत्तावादी रवैयाको घोर निन्दा र भर्त्सना गर्दछौं ।’

कास्की कांग्रेसले सांसद शाहीको स्वास्थ्य स्थितिका बारेमा सत्यतथ्य सार्वजनिक गर्न र छानविनको माग गरेपछि गण्डकी प्रदेशको एमालेको सरकारलाई तनाब भएको छ । सांसद बेपत्ता बनाउने काण्डमा सहभागीहरूको सातोपुत्लो उडेको छ ।

Published : Thursday, 2021 April 29, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया