विदेशमा रहेका नेपालीहरूले दिए ललितपुरको गिम्दीलाई एम्बुलेन्स
गिम्दी । ‘गिम्दी प्रवासी युवा समाज’ले ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित गिम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ ।
गिम्दी घरभई विदेशमा रहेका नेपालीहरूले रकम संकलन गरेर एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई सहयोग गरेका हुन् ।
प्रवासी युवा समाजका नेपाल प्रतिनिधि एवं गिम्दी स्वास्थ्य चौकीका सिनियर अहेब कमलबहादुर आले मगरले गाउँका जनतालाई अस्पतालसम्म पुगेर उपचार गर्न सहयोग होस् भनेर एम्बुलेन्स सहयोग गरेको बताए ।
गिम्दी घरभई मलेसियामा कार्यरत कृष्णबहादुर जर्घा मगरको संयोजन र पहलमा एम्बुलेन्स खरिदका लागि सहयोग जुटाउने कार्य शुरु भएको थियो ।
अभियानलाई अमेरिका, दक्षिण कोरिया, जापान, कतार, रोमानिया, साउदी अरब, इराक, बहराइन, युएई, मकाउ लगायत देशमा रहेका नेपालीहरूले थोपा–थोपा गरेर आर्थिक सहयोग गरेका थिए ।
गिम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिदका लागि १५ लाख २८ हजार ९ सय ४९ रुपियाँ रकम संकलन भएको थियो ।
सोमबार समाजले बागमती गाउँपालिकाका प्रमुख एवम् नेपाली कांग्रेसका नेता वीरबहादुर लोप्चनलाई हस्तान्तरण गरेको छ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उप–प्रमुख रञ्जना घिमिरे तिमल्सिना, जनक माविका प्रधानाध्यापक गोकर्ण फुयाँल, बागमती गाउँपालिका– ४ का वडाध्यक्ष नारायण घले, गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, गिम्दी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष नवराज सञ्जेललगायतको उपस्थिति रहेको थियो ।
बागमती गाउँपालिकाका गिम्दी, आश्राङ, महाङ्काल गाउँपालिकाको ठूलादुर्लुङ, काभ्रेको खानीखोला गाउँपालिका, मकवानपुरको बकैया बाग्मती गाउँपालिका लगायतका जनताले प्रत्यक्ष रुपमा एम्बुलेन्स सेवाबाट लाभ लिन पाउनेछन् ।
कार्यक्रममा सुवानेका मृगौलापीडित कमलबहादुर सिंतानलाई ८२ हजार २ सय ५५ रुपियाँ नगद सहयोग गरिएको थियो ।
आगलागीबाट मृत्यु भएका सोही वडाका सानुकान्छा सिंगारको परिवारलाई २० हजार नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।
सहयोग रकम गिम्दी प्रवासी युवा समाज मलेसियाका संयोजक कृष्णबहादुर जर्घा मगर र जापानमा रहेका चन्द्र पाण्डेको अगुवाईमा उपलब्ध गराइएको थियो ।
प्रवासी युवा समाजले यसअघि गिम्दी स्वास्थ्य चौकीलाई स्टेचर, बेड, घडी लगायत विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहयोग गर्नेका आफन्तलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया