शोकमा कांग्रेस केन्द्रीय सदस्य मुसलमान, मुस्लिम संघ कपिलवस्तुका अध्यक्षको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानका भाई अरशद कमाल मुसलमानको निधन भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघ कपिलवस्तुका अध्यक्ष समेत अरशदको मंगलबार बिहान करीव ८ बजे निधन भएको उनका दाजु अतहर कमाल मुसलमानले जानकारी दिएका छन् ।

बाढगंगा नगरपालिका– ११ निवासी अशरद कांग्रेसको राजनीतिका साथै सामाजिक कार्यहरूमा निकै सक्रिय थिए ।

कोरोनाभाइरसको संक्रमण भएपछि अरशदलाई सोमबार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अरशदका दाई अतहर कमाल मुसलमानले भने, ‘सोमबारसम्म राम्रो थियो । भैरहवा लगेर भर्ना गरेका थियौँ । अचानक मंगलबार बिहान निधन भयो । केही सोँच्नै सकेका छैनौँ ।’

मुस्लिम संघका अध्यक्ष अरशदको निधनप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शाहले अरशदको निधनले कपिलवस्तु कांग्रेसलाई ठूलो क्षति भएको बताएका छन् । शाहले शोकमा रहेका स्व.अरशदका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Published : Tuesday, 2021 April 27, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया