बेलायतवासी नेपालीले गरे दाङका आगलागी पीडितलाई सहयोग
लन्डन । बेलायतवासी नेपालीले दाङका आगलागी पीडितहरुलाई ३ हजार ३ सय पाउण्ड (झन्डै साढे पाँच लाख रुपियाँ) सहयोग गरेका छन् ।
दाङको बंगलाचुली गाउँपालिका-३ का खोपीराम डाँगी, खेतुलाल डाँगी र वबीराम डाँगी तथा लेखतापा गाउँस्थित एक दलित परिवार र सोही गाउँका एक पौडेल परिवारको घर जलेर पूर्ण रुपमा नष्ट भएपछि बेलायतका नेपालीहरुले पीडित परिवारलाई नगद सहयोग गरेका हुन् ।
खोपीराम डाँगीलाई एकलाख २५ हजार रुपैयाँ, खेतुलाल डाँगीलाई एक लाख २५ हजार रुपैयाँ, वबीराम डाँगीलाई एक लाख २५ हजार रुपैयाँ, मवीर डांगीलाई ४० हजार रुपैयाँ, लेखतापस्थित एक दलित परिवारलाई एक लाख १० हजार रुपैयाँ र लेखतापकै पौडेल परिवारलाई १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको चन्दा संकलन अभियानका एकजना संयोजक मोहनलाल ओलीले जनाए ।
नेपलिज सेफ एसोसिएसन यूकेका उपाध्यक्ष मोहनलाल ओली र सोही संस्थाका प्रवक्ता राजु बोहोराको संयोजनमा चन्दा संकलन गरिएको थियो । ओली र बोहोरा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको कार्यसमिति सदस्य पनि हुन् ।
उक्त परोपकारी कार्यमा एड्ली नेपलिज फेमिली बर्मिङघम यूकेका समाजसेवीहरु शिवलाल पौड्याल, कुलबहादुर बिक, केशव बिक र पदम शाही पनि जोडिन आइपुगेका थिए ।
आगलागी पीडितको आर्थिक अवस्था कमजोर भएकाले थोरै भएपनि सहयोग गरिएको राजु बोहोराले बताए । संयोजक ओली र बोहोराले सम्पूर्ण दाताहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
‘अप्ठेरो परिस्थितिमा दाताहरुले जुन सहयोग दर्शाउनु भयो, हामी ज्यादै कृतज्ञ छौं’, मोहनलाल ओलीले भने ।
विदेशमा रहेपनि दुःख आपत परेका बेला नेपाल र नेपालीलाई सहयोग गर्नु आफूहरूको दायित्व भएको ओलीले बताए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया