वीपी हुँदा देशको राजनीति देशभित्रै थियो, कम्युनिस्टले देश बाहिर लगेः डा.यादव
मानेभञ्ज्याङ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले मुलुकको राजनीति देशको सीमाभन्दा बाहिर गएको भन्दै चिन्ता जनाएका छन् ।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ५ मा रहेको श्री भगवती उच्च माध्यामक विद्यालयको ६०औँ शुभ हीरक महोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै डा.यादवले नेपालको सीमापारीबाट मुलुकको राजनीति चल्ने गरेको बताए । उनले वीपी कोइरालाको पालामा नेपालको राजनीति देशभित्रै नियन्त्रणमा रहेको समेत उनले बताए ।
‘वीपी कोइरालाको पालामा त्यस्तो उथलपुथल हुँदा पनि देशको राजनीति देशकै सीमाभित्र थियो’, पूर्वराष्ट्रपति यादवले भने, ‘अहिले नेपालको राजनीति सीमापारी छ ।’
कम्युनिस्टहरूले मुलुकमा विदेशहरूलाई बोलाएर आन्तरिक राजनीतिमा हस्तक्षेत्र निम्त्याएको भन्दै डा.यादवले असन्तुष्टि जनाएका थिए । उनले आन्तरिक मामिलामा विदेशीको हस्तक्षेप स्वकार गर्न नसकिने बताएका छन् ।
डा.यादवले बन विनास, चुरे दोहन, डोजर आतंक मुलुकका लागि ठूलो समस्या भएको बताएका छन् । उनले जनप्रतिनिधिहरूले यो विषयमा कुरा किन नउठाएका हुन् भनेर प्रश्न गरेका छन् ।
जनताको प्रतिनिधिले बन विनास, डोजर आतंक हुँदा पनि किन कुरा उठाएनन् भनेर डा.यादवले प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आउने आर्थिक वर्षभित्र मानेभञ्ज्याङ गाउँपालिकाभित्र विद्युत् नपुगेका गाउँ र वडाहरूमा विद्युतीकरण गरिने बताए । उनले ओखलढुंगा प्रवेशद्वार मानिने मानेभञ्ज्याङको विकासमा आफूले विशेष भूमिका खेलेको पनि बताए ।
कांग्रेस नेता खतिवडाले विद्यार्थीलाई आधुनिक शिक्षा सिकाउनुपर्ने बताएका छन् । उनले विद्यार्थीलाई जीवन चलाउन सक्ने शिक्षा आवश्यक रहेको पनि बताएका छन् ।
श्री भगवती उच्च माविका विद्यार्थीले कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरेका थिए । प्रमुख अतिथि डा.यादवले श्री भगवती उच्च माविको स्मारिकाको विमोचन पनि गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश १ का प्रदेश सांसद मोहन खड्का, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलालगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, पूर्वराष्ट्रपति डा.यादवले गोरखा वेलफेयर ट्रस्टको १६ कोठाको पक्की भवनको उद्घाटन पनि गरेका थिए । भवनका बाँकी चार वटा कोठा बन्दै गरेको छ ।
सोही कार्यक्रममा डा.यादवले कांग्रेस नेता रामहरि खतिवडा, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला, डा.गोपीकृष्ण गौतम, डा.रामजी तिमिल्सिना, नेविसंघका नेता नवीन राईलगायतलाई सम्मान गरेका थिए । कार्यक्रममो सञ्चालन सञ्चारकर्मी गजुरधन राईले गरेका थिए ।










बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया