उप–प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पाण्डे नियुक्त, जिम्मेवारी सम्हाले

काठमाडौं । उप–प्रधानमन्त्री ईश्वर पोखरेलको प्रेस सल्लाहकारमा पत्रकार गणेश पाण्डे नियुक्त भएका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

पाण्डेले सबैको सरसल्लाह र सझावअनुसार आफूले काम गर्ने बताएका छन् । उनले भने, ‘उप–प्रधानमन्त्रीज्यूको सचिवालयमा रहेर सबैको सहयोगले काम गर्नेछु । सबै सञ्चारकर्मी, सञ्चार गृहहरूसँग सहकार्य गरेर अगाडि बढ्ने मेरो पहिलो प्राथमिकता रहनेछ ।’

लमजुङ जिल्ला स्थायी घर भएका पाण्डे दैनिक नेपाल डट कमका प्रकाशक एवम् सम्पादक पनि हुन् । उनी डकुमेन्ट्री फिल्महरूको निर्देशन समेत गर्दै आएका छन् ।

उनले भूकम्पसम्बन्धी डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ बनाएका थिए । ‘भाग्यले बाँचेकाहरू’बाट पाण्डेले थुप्रै पुरस्कारहरू पाएका थिए ।

उनको यो डकुमेन्ट्री नेपालको इतिहाँसमा पहिलो पटक बेलायतको संसदमा समेत प्रदर्शन भएको थियो ।

पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाइनमा काम गरेर लामो समयदेखि पत्रकारिता गरेका पाण्डे अहिले पनि पत्रकारितामै सक्रिय छन् ।

Published : Friday, 2021 April 23, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया