कांग्रेस नेता गिरीको प्रस्तावले ओली र महन्थ ठाकुरको सपना चक्नाचुर

काठमाडौं । खड्गप्रसाद ओलीलाई बिस्थापित गरेर नयाँ सरकार बनाउनेबारेमा छलफल चलिरहेका बेला नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद गिरीले चुनावमा जाँदा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले ओलीलाई पुनः संसद विघटन नगर्न आग्रह गरेका छन् ।

कांग्रेस नेता गिरीले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री ओली भएको बताए । दिन प्रतिदिनको विवाद संसदको भनाभनबाट समाधान ननिस्कने भन्दै गिरीले राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका छन् ।

कांग्रेसका सांसद गिरीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई भर्खर रोपिएको बिरुवामा जरा लाग्यो कि लागेन भनेर उखेलेर हेर्ने प्रवृत्ति भनेका छन् ।

संसदकै सुन्दर भनेको २०४७ सालको संविधान त नटिकेको भन्दै उनले २०७२ को संविधान जारी गर्दा दलित र जनजाति असन्तुष्ट तथा मधेशी समुदाय घोर असन्तुष्ट भएर विद्रोह गरेको स्मरण गरेका छन् ।

‘यो संविधानलाई मलजल गर्ने कि नगर्ने ? मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर यसको जरा लागेको छ कि छैन हेर्ने ?’, उनले भनेका छन्, ‘केही समय धैर्यपूर्वक हेर्नुको साटो बिरुवा उखेलेर जरा हेर्ने प्रवृत्ति हामीले विगत महीनामा देख्यौं ।’

गिरीले अब जरा हेर्न खोज्ने र हेर्न नदिनेहरूले नयाँ दायित्व लिनुपर्ने बताएका छन् ।

‘संविधानको रक्षा गर्छौं कि गर्दैनौं ? रक्षा गर्दा यही रुपमा गर्छौं वा यथोचित परिमार्जनका साथ गर्छौं ?’, गिरीले प्रश्न गर्दै भने, ‘त्यो परिमार्जन टालटुले हुन्छ वा मुलुकको सबै समुदाय, जातिको चित्त बुझाउने गर्छौं ?’

प्रधानमन्त्री वा प्रतिपक्ष कसैले पनि एक्लै संविधान संशोधन गर्न नसक्ने भन्दै उनले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री सडकमा फ्याँकिए जसरी सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा रहेको गिरीले बताएका छन् ।

‘प्रश्न सरकारको होइन । यो संविधानलाई बचाएर अगाडि बढ्ने हो वा २०४७ सालको जस्तै विजोग गर्ने हो ?’, उनको प्रश्न छ, ‘अथवा चुच्चे नक्शाको जस्तो विजोगमा लैजाने हो ?’ अहिले चुनावको कुरा आएको भन्दै गिरीले त्यसका लागि पनि सबै मिल्नुपर्ने बताएका छन् ।

‘यही सरकार अन्तर्गत चुनावमा जान हामी तयार हुन्छौं कि कुनै व्यक्ति वा शक्तिले बाहिर बसेर विद्रोह गर्छ कि ?’, कांग्रेस सांसद गिरीले भने, ‘याद राख्नुस्, चुनाव पनि सहमतिमा हुने हो ।’

१२–१३ जनाले नमान्दा २०४७ सालको संविधानको विनाशको बीजारोपण भएको स्मरण गर्दै उनले अहिले पनि त्यही समय आएको बताएका छन् । उनले आफू र आफ्नो अहंबाट माथि उठ्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘अब प्रधानमन्त्रीलाई तिमीले छोड मात्र भनेर हुँदैन, समाधान पनि दिनुपर्नेछ’, गिरीले भनेका छन्, ‘कसरी राष्ट्रिय सहमति गर्न सक्छौं एक पटक आफूलाई चियाऔं ।’

‘चुनाव गर्नुअघि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार गठन गर्न तयार होऔं’, कांग्रेसका सांसद गिरीले भनेका छन् । सांसद गिरीले चुनाव नगर्ने हो भने संसदलाई पूरा कार्यकाल चल्न दिनुपर्ने बताएका छन् ।

मुलुकको सबैभन्दा बलियो मानिसले ‘मै ठीक छु, मेरो कुरा मान’ भनिरहेको भन्दै गिरीले भने, ‘लामो समय जेल रहनुभएको, दुःख गर्नुभएको प्रधानमन्त्री ओलीलाई भन्छु, आजको राष्ट्रिय नियतलाई आफ्नो तजबिजको कुरा नमानी संसदमा उपस्थित प्रत्येक पार्टी, संसदभन्दा बाहिर रहेको नागरिक समाजले उठाएका एकपछि अर्को सवाललाई सम्बोधन गरी नयाँ उँचाइ प्राप्त गर्नुस् ।’

‘जालझेल गरेर शकुनीले पासा फ्याँके जस्तो संसद विघटन गर्ने दिशामा नगइयोस्’, कांग्रेस नेता गिरीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिएर सरकार टिकाउन खोजेका बेला गिरीको प्रस्तावले ओली र महन्थ ठाकुरलाई तनाव बढाइदिएको छ । ठाकुरले ओलीलाई दवाव दिएर प्रधानमन्त्री बन्न खोजेका छन् ।

प्रधानमन्त्री बन्ने लोभमा कांग्रेसको प्रस्तावलाई अस्वीकार गरेका ठाकुरलाई ओलीले प्रधानमन्त्री बनाइदिने लोभ छ ।

Published : Monday, 2021 April 12, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया