कम्युनिस्ट किल्लामै घुसे खतिवडासहितका कांग्रेस नेताहरू, एमाले–माओवादीलाई सिध्याउन अपील

रुकुम । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमाले र माओवादी केन्द्रले कथित वाम गठबन्धनको नाममा राजनीतिक स्थायित्वका लागि भोट मागेर जनतालाई बेकुव बनाएको बताएका छन् ।

रुकुम जिल्लामा सोमबार आयोजित नेपाली कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले एमाले र माओवादीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको बताए ।

‘सत्ताका लागि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कथित वाम गठबन्धन बनाएर राजनीतिक स्थायित्वका लागि भोट माग्नुभयो’, उनले भने, ‘जनताले विश्वास गरेर झण्डै दुईतिहाइ बहुमत पनि दिए । जनतालाई बेकुव बनाएर अहिले सत्ताका लागि दुबै पार्टी विभाजन भएका छन् । नेताहरू फुटेर एकले अर्कोलाई खुइल्याउने कार्य गर्नुभएको छ ।’

खतिवडाले कम्युनिस्टबाट देश चल्न नसक्ने बताए । जनताले कम्युनिस्टको हर्कतलाई बुझेर अबको निर्वाचनमा कांग्रेसलाई जिताउन उनले अपील गरेका छन् ।

‘ओली–प्रचण्डले राजनीतिक स्थिरताका नाममा जनतासँग भोट मागे । जनताले वाम गठबन्धनलाई दुईतिहाइ बहुमत पनि दिए’, उनले भने, ‘मुलुकलाई अस्थिरतामा लगे । जनताले अब कांग्रेसलाई माया गर्नुपर्छ ।’

कांग्रेसका युवा नेता खतिवडाले कम्युनिस्टले जनतालाई ठूलो धोका दिएको बताए ।

‘कम्युनिस्टबाट जनतालाई ढाँट्नेभन्दा अरु काम भएन । कम्युनिस्टले राष्ट्रियता कमजोर बनाए’, उनले भने, ‘कम्युनिस्टले जनताका सामान्य कुरालाई पनि ध्यान दिएनन् । आफूले कसरी भ्रष्टाचार गरेर कमाउने हो भनेर मात्रै ध्यान केन्द्रित बनाए । महँगी मात्रै बढ्यो ।’

‘कम्युनिस्टले आफू सुविधामा रहेर जनतालाई दुःख दिए । जनतालाई भ्रममा पारेर राखेका छन् । कमिशन खाने कार्य तत्काल बन्द गर्नुपर्छ’, खतिवडाले भने, ‘गरिव जनतालाई लोभ देखाएर कथित जनयुद्धमा लगाए । बन्दुक बोकाए । ज्यान दिन बाध्य पारे । नेताहरू आफूमात्रै धनी भए । सुविधा भोगी भए ।’

कांग्रेस नेता खतिवडाले माओवादी र एमालेले जनतालाई ठूलो धोका दिएको भन्दै निर्वाचनबाट दण्ड दिन अनुरोध गरेका छन् । उनले भने, ‘एमाले र माओवादीका नेताहरूले पार्टीको नाम कम्युनिस्ट राखे आफूले बद्मासी गरेका छन् ।’

कार्यक्रममा कांग्रेस नेताहरू पुरुषोत्तम दाहाल, डा.गोविन्द पोखरेल, राजु नेपालसहितका नेताहरूले पनि कम्युनिस्टको झुठको भ्रमबाट जनता जागरुक हुन आवश्यक रहेको बताएका छन् ।

माओवादी केन्द्रले रोल्पा, रुकुम, सल्यानलाई आफ्नो लाल किल्ला दावी गर्छन् । तर, कम्युनिस्टहरूबाट आजित बनेका जनताहरू क्रमशः कांग्रेसमा आकर्षित भइरहेका छन् । कम्युनिस्टको चरित्र बुझ्न थालेका छन् ।

Published : Monday, 2021 April 12, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया