कांग्रेस एकढिक्का भएर अगाडि बढ्छौं, देशभरि जित्छौँः डा.शशांक कोइराला

रत्ननगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अबको निर्वाचनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन ।

नेपाली कांग्रेस रत्ननगर नगर समितिको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले सबै आ–आफ्नो स्थानबाट ईमानदार भएर लाग्ने हो भने देशभरि कांग्रेस छाउने बताए ।

उनले नेपाल कृषिप्रधान देश भएकोले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवाहरूलाई लक्षित गरि कृषि कार्यमा जोड दिने बताए ।

वीपी कोइरालाको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको स्मरण गर्दै डा.कोइरालाले नेपालमा १७ लाख हेक्टर जमिन कृषि योग्य भएको हुँदा आधुनिक कृषि प्रणाली अनुसार युवाहरूलाई देशमा नै बस्ने वातावरण तयार गर्न कांग्रेसको सरकार लाग्ने बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले वडा तह देखिनै सबैले मनभित्रको तिक्तता फालेर पार्टी बलियो बनाएर जानुपर्ने बताए ।

चितवन जिल्लाले पार्टीले केन्द्रबाट गरेको निर्देशन पालना गर्दै आएको उनले बताए । कुनै पनि बहानामा पार्टी अधिवेशनको समय सार्न नमिल्ने भन्दै सभापति श्रेष्ठले केन्द्रमा पनि दबाब दिन महामन्त्री डा.कोइरालालाई आग्रह गरेका छन् ।

सभापति रुपनराज घिमिरेले वर्षभरि नेपाली कांग्रेस नगर समितिको आयोजनामा भएको कार्यक्रम समावेश गरेर पात्रो प्रकाशित गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका उप–सभापति कैलाश कोइराला, जिल्ला सचिव उत्तम आचार्य, राजिव न्यौपाने, सह–सचिव सूर्य अर्याल, जिल्ला प्रवक्ता नीता ढकाल, क्षेत्रीय सभापति राजु सिलवाल, निवर्तमान क्षेत्रीय सभापति कुमार कार्की, पूर्व क्षेत्रीय सभापति नन्दराम कँडेल, महासमिति सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटी, महासमिति सदस्य सुशीला उप्रेती, जिल्ला सदस्य दीवाकर अर्याल, पूर्व नगर सभापति महेशप्रसाद रौनियार, महाधिवेशन प्रतिनिधि विजय ओझा लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2021 April 11, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया