प्रचण्डको किल्ला रुकुममा खतिवडासहित कांग्रेस नेताहरूद्वारा कम्युनिस्टको भण्डाफोर

रुकुम । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले केपी ओलीलाई कम्युनिस्टको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गरेका छन् ।

नेपाली कांग्रेसले रुकुम पश्चिमले आइतबार मुसीकोट खलंगामामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले जनतालाई सधैँ ढाँटेर शासन गर्ने कम्युनिस्टहरूको सबै कुरा जनताले थाहा पाएको बताए । उनले ओली र प्रचण्ड मिलेर गएको निर्वाचनमा जनतालाई ढाँटेर सत्तामा पुग्ने भर्‍याङ बनाएको बताए ।

‘ओलीजीले कांग्रेसलाई अब २५ वर्ष सत्तामा जाँदैन भन्नु हुन्थ्यो । शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो’, खतिवडाले भने, ‘सत्तास्वार्थका कारण उहाँहरू आफै फुट्नुभएको छ । कांग्रेसका नेताहरूको घरमा आफै आएर खुट्टा ढोगेर हामीले सकेनौँ तपाईहरूले सरकार चलाइदिनुस् भन्नुभएको छ । ओलीजीलाई कम्युनिस्टको अन्तिम प्रधानमन्त्री बनाउन जनता आतुर छन् ।’

‘कम्युनिस्टको काम जनतालाई ढाँट्ने मात्रै हो । रुकुममा माओवादीले ढाँटेर शासन गरे’, कांग्रेस नेता खतिवडाले भने, ‘विगतमा रुकुममा निर्दोष मान्छेलाई मार्नुभयो । ढाँटेर सत्तामा पुग्नुभयो । जनताका लागि केही गर्नुभएन ।’

‘जनता मारेर शासन गर्ने पद्धति सदाका लागि अन्त्य भयो । अझै सोझासाझा जनतालाई शासनमा जाने सपना बाँडेर प्रचण्ड रुकुमा आउनुभएको छ’, खतिवडाले भने, ‘नेपालबाट सदाका लागि कम्युनिस्ट अन्त्य हुन्छ ।’

‘केपी ओलीले जनतालाई केवल आवश्वासन बाँड्ने काम बाहेक केही गर्नुभएको छैन । यसको बदला जनताले लिनेछन्’, उनले भने, ‘कम्युनिस्टबाट मुक्त नेपाल हाम्रो चाहना छ । प्रचण्डको कम्युनिस्ट होस् वा केपी ओलीको कम्युनिस्ट होस् । जनताले कम्युनिस्ट चाहेका छैनन् ।’

कांग्रेस नेता खतिवडाले भने, ‘रुकुमबाट हामीले शिक्षा लिएर जानुपर्छ । हिजो कम्युनिस्टले ढाँटेर भोट हाल्न लगाए । कम्युनिस्टसँग जनता अब डराउनु पर्दैन । कम्युनिस्टले सिधा जनता पाएर शासन गरे ।’

‘कम्युनिस्टले सोझा व्यापारी पाएर पैसा उठाए । आतंकको देश बनाए । अहिले सरकारमा हुँदा पनि चन्दा उठाउने । बाहिर हुँदा पनि चन्दा र डण्डा चलाउने काम उनीहरूले गर्दै छन्’, उनले भनेका छन् ।

‘रोल्पा, रुकुम, सल्यान, प्युठान जस्ता जिल्लाका जनतालाई दास बनाएर शासन गरे’, खतिवडाले भने, ‘जनता अब कम्युनिस्टको दास बन्दैनन् । कांग्रेसले मुलुकमा लोकतन्त्र ल्याएको छ । संविधान र लोकतन्त्रको रक्षा गरेर जनतालाई मालिक बनाउने काम कांग्रेसले गर्छ ।’

कार्यक्रममा कांग्रेस नेताहरू पुरुषोत्तम दाहाल, डा.गोविन्द पोखरेल, नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति रेम खड्का ‘सोली’, नेता राजु नेपालसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेस नेताहरूले कम्युनिस्टहरूको भण्डाफोर गरिदिएका छन् । नेताहरूले जनतालाई कम्युनिस्टको कालोकर्तुतहरूको जानकारी गराइदिएका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हप्ता अगाडि चौरजहारीमा सम्बोधन गरेर फर्किएका थिए । प्रचण्ड फर्किएको केही दिनभित्रै रुकुम पश्चिम कांग्रेसले प्रशिक्षण लगायतको कार्यक्रम राखेको छ । जनतालाई प्रशिक्षित गरेको छ ।

माओवादीले रुकुम, रोल्पालाई आफ्नो आधार किल्ला र उद्गमस्थल मान्छ । माओवादीको त्यो उद्गमस्थलमा कांग्रेस नेताहरूले जनतालाई प्रशिक्षण दिएर कम्युनिस्टको भण्डाफोर गरिदिएका छन् ।

Published : Sunday, 2021 April 11, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया