महामन्त्री डा.कोइराला र प्रचण्डबीच भेटवार्ता, ठक्कर खाएपछि साइजमा आयो माओवादी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच जम्का भेट भएको छ ।

आइतबार चितवनको भरतपुर विमानस्थलको विशिष्ट कक्षमा डा.कोइराला र दाहालबीच भेटवार्ता भएको हो । जम्का भेटका क्रममा माओवादी अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर अगाडि बढ्न प्रस्ताव राखेका थिए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रसरता लिन खुट्टा नकमाउन दाहालले महामन्त्री डा.कोइरालासँग आग्रह गरेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

माओवादी अध्यक्ष दाहालले ओलीलाई विस्थापित गरेर सरकारको नेतृ कांग्रेसले पहल गर्न पनि डा.कोइरालासँग आग्रह गरेका थिए ।

दाहालको आग्रहपछि महामन्त्री डा.कोइरालाले पार्टीको पदाधिकारी बैठक पनि रहेको र शीर्ष नेताहरूसँग यो विषयमा आफूले गम्भीर रुपमा परामर्श गर्ने आश्वासन दिएको सभापति श्रेष्ठले बताए ।

सो भेटमा माओवादीका अध्यक्ष दाहालले महामन्त्री डा.कोइरालासँग विगतका कुरालाई लिएर कांग्रेस र माओवादीबीच मनमुटाव लिन नहुने पनि बताएका थिए ।

अध्यक्ष दाहालको भनाइ उदृत गर्दै चितवन कांग्रेसका सभापति श्रेष्ठले भने, ‘बाटो हिँड्दा ठेस लागेको कुरालाई धेरै महत्व दिनु हुँदैन ।’

ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि मुलुकको राजनीति नयाँ मोडमा आइपुगेको छ । ओलीलाई हटाउन माओवादी अध्यक्ष दाहाल कम्मर कसेर लागेका छन् ।

तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह ओलीतिर झुकाव राखेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिन धेरै रुचि देखाएका छैनन् ।

ओली र ठाकुरबीच बाक्लै सम्वाद हुने गरेका छन् । ठाकुरले खुलेरै ओलीको प्रशंसा गर्नुका साथै आफूहरूको माग कार्यान्वयनको चरणमा पुगेको बताउने गरेका छन् ।

Published : Sunday, 2021 April 11, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया