३ वर्षमै कांग्रेस जागेपछि ओलीले तोरीको फूल देखे, पोखरेलले बालुवाटार निकटका कम्युनिस्टको नास गरिदिए

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनका विपुल पोखरेल भारी मतले विजयी भएका छन् ।

अध्यक्षमा पोखरेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीको पार्टी एमाले निकटका पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालकी उम्मेदवार निर्मला शर्मालाई पराजित गरेका हुन् ।

पोखरेलले ५ हजार ९ सय ४२ मतसहित निर्वाचित भएका छन् । शर्माले ३ हजार ९ सय १५ मत पाएकी छिन् । २ हजार २७ मतको अन्तरले शर्मा पराजित भएकी हुन् ।

दाङ जिल्ला निवासी पोखरेल यसअघि महासंघको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । लामो समयदेखि पत्रकारिता गर्दै आएका पोखरेल साहित्यमा पनि दख्ल राख्छन् । उनले पुस्तकहरू पनि लेखेका छन् ।

शनिबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार पोखरेल नेतृत्वको गठबन्धन निर्वाचित भएको छ । महासंघको ५१ सदस्यीय केन्द्रीय समितिमा सबै पदाधिकारी पोखरेल नेतृत्वको समूहले कब्जा गरेको छ ।

कार्यसमितिमा तीन जना सदस्यबाहेक सबै पोखरेल समूहबाट उम्मेदवार बनेकाहरू निर्वाचित भएका छन् । लेखा समिति पनि पोखरेल समूहले कब्जा गरेको छ ।

महासंघको कार्यसमितिमा ओली निकटका एक जना मात्रै सदस्यमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) निकटका एक जना पत्रकार सदस्य निर्वाचित भएका छन् । सदस्यमा अर्का एक जना स्वतन्त्रबाट निर्वाचित भएको हुन् ।

कांग्रेस निकटका रमेश विष्ट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । विष्ट ६ हजार ७ सय ४१ मत पाएका थिए । विष्टका प्रतिद्वन्द्वी ओली निकटको प्रेस चौतारीका माधव नेपाललले ३ हजार ७ सय ८१ मतसहित पराजित भएका छन् ।

उपाध्यक्ष महिलामा कांग्रेस निकटकी बाला अधिकारी निर्वाचित भएकी छिन् । अधिकारीले ७ हजार २ सय २६ मतसहित जितेकी हुन् । उपाध्यक्ष समावेशीमा उदय जीएम निर्वाचित भएका छन् । जीएम राष्ट्रिय जनमोर्चा समर्थक हुन् ।

माओवादी केन्द्र निकटका रोशन पुरी महासचिवमा निर्वाचित भएका छन् । पुरीले ६ हजार २ सय ४२ मत पाएका थिए ।

महासचिवमा ओली निकटको प्रेस चौतारीका उम्मेदवार बालकृष्ण बस्नेत पराजित भएका छन् । बस्नेतले ३ हजार ८ सय ६० मत ल्याएका थिए ।

एमालेका वरिष्ठ नेता माधव नेपाल निकटको प्रेस चौतारीका गोविन्दप्रसाद चौलागाइँ महासंघको खुल्ला सचिवमा निर्वाचित भएका छन् ।

सचिव महिलामा सृजना अर्याल (कांग्रेस), आदिवासी सचिव नारायणसुन्दर किलम्बू (कांग्रेस), सचिव मधेसीमा दीपेन्द्र चौहान (कांग्रस), दलितमा हेमकर्ण विक (माधव नेपाल समूह), सचिव एसोसिएटमा पवन आचार्य (कांग्रेस) र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल (कांग्रस) विजयी भएका छन् ।

तीन सदस्यीय लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । सदस्यमा मुकुन्दप्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित भएका छन् ।

खुल्ला पाँच सदस्यमा छविलाल तिवारी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री निर्वाचित भएका छन् ।

सदस्य महिला खस आर्यमा सरिता तिमिल्सिना, मधेसीमा ललिताकुमारी साह, महिला आदिवासी जनजातितर्फ शान्ता आङबुहाङ, सदस्य दलिततर्फ सरिता बराइली र सदस्य आदिवासी जनजातिमा भीषण राई निर्वाचित भएका छन् ।

महासंघको केन्द्रीय निर्वाचनमा कांग्रेसनिकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र नेकपा एमाले माधवकुमार नेपाल समूहको प्रेस चौतारीको चुनावी तालमेल थियो ।

केन्द्रमा यो तालमेल भएपछि अधिकांश जिल्ला र प्रदेशहरूमा पनि यही प्यानल एक भएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले पत्रकारहरूले आफ्नो संस्था ठान्ने गरी श्रमजीवी पत्रकारको हित र प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘यो कसैको विजय र पराजय हैन । निर्वाचनका सन्दर्भमा भएका गठबन्धन चुनाव जित्ने रणनीतिका रुपमा भएका हुन् ।

समग्रतामा जसले जिते पनि पत्रकार, पत्रकारिताको हितसँग सम्बन्धित सबै एजेन्डामा सबै साथीसँग छलफल भएका छन् ।’

प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनले झण्डै दुईतिहाइ मत पाएपछि प्रधानमन्त्री ओलीले कांग्रेसलाई २५ वर्षसम्म खोज्न नपर्ने अवस्था सिर्जना गर्ने अहँकारपूर्ण अभिव्यक्ति दिएका थिए ।

ओलीको अभिव्यक्तिलाई पत्रकार महासंघको निर्वाचनमा पोखरेलले अध्यक्षमा आधारभन्दा धेरै मत ल्याएर ओलीका अध्यक्षका उम्मेदवारलाई हराइदिएर चकित तुल्याइदिएका छन् ।

महासंघमा ओली निकटका एक जना सदस्यले जितेर ओली निकटको एमालेको बीउ बचाएका छन् । महासंघमा हारेपछि ओली निकटका पत्रकार र नेताहरू चानुमानु लागेर बसेका छन् । नुख खाएको कुखुरा झोक्र्याए जस्तै भएको चर्चा सामाजिक सञ्जालमा भएको छ ।

Published : Saturday, 2021 April 10, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया